अन्धकार सिंहदरबार


समयः बुधबार राति ११ बजे ।
स्थानः देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार ।
काठमाडौं, असोज २३ । सिंहदरबार बाहिर पर्खालसँगै चारैतर्फ बिजुली र सोलारजडित गरी १ सय ६ वटा पोल गाडिएका छन् । त्यसमध्ये ३१ पोलमा बत्ती बल्छन्, ७५ पोलमा बल्दैनन् ।

सिंहदरबारको भद्रकालीतर्फ फर्किएको मूल गेट आसपासमा ५ वटा पोल छन् तर मूल गेटका एउटै पोलमा बत्ती बल्दैनन् । मूल गेटतर्फबाट पुतली सडकतर्फ १३ वटा पोल ठडिएका छन्, ती पोलमा बत्तीको उज्यालो देखिँदैन । मूल गेटतर्फबाटै सर्वोच्च अदालत हुँदै माइतीघरतर्फ जाँदा समेत सर्वोच्च अदालतअघि बाहेकका सात वटा पोलमा बत्ती बल्दैनन् ।

माइतीघर तर्फबाट दक्षिण गेटतर्फका ११ पोलको हालत पनि उस्तै छ । दक्षिण गेटको मूल गेटमा मात्रै उज्यालो छ । सोही गेटबाट हनुमानस्थान तर्फका ६ वटा पोल र हनुमान स्थानबाट पूर्वी गेटतर्फका १२ पोलसहित त्यहाँबाट अनामनगरसम्मका ८ वटा पोलमा बत्ती छन् तर बल्दैनन् । अनामनगरदेखि पुतली सडकसम्मका १३ वटा पोलमा पनि बत्तीको उज्यालो देखिँदैन ।

देशको मुख्य प्रशासनिक केन्द्रको मूल गेट र चारैतर्फका पर्खालअघिको यो हालत छ भने काठमाडौंका मुख्य सडक, भित्री सडक र देशका अन्य स्थानको अनुमान गर्नै पर्दैन ।

सिंहदरबार अन्धकार हुँदा सुरक्षाका दृष्टिकोणबाट समेत गम्भीर प्रश्न उब्जिएको छ । किनकि मूल गेटसहित सिंहदरबार आसपास थुप्रै सीसीटीभी क्यामेरा जडान गरिएको छ । त्यहाँ उज्यालो छैन ।

सिंहदरबार आसपासको रात्रिकालीन अनुगमनपछि हामीले विद्युत् प्राधिकरण र काठमाडौं महानगरलाई सोध्यौं, ‘सिंहदरबार बाहिर सडकमा बिजुली बत्ती बाल्ने काम कसको रु’

तर, दुवै निकाय जिम्मेवारीबाट पन्छिन खोजे । विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले सडक बत्तीको काम महानगरको जिम्मेवारीभित्र पर्ने बताए ।
‘सडकबत्तीको रेखदेख र बिजुली बले नबलेको हेर्ने काम हाम्रो जिम्मेवारीभित्र पर्दैन, महानगरअन्तर्गतको निकायले हेर्नुपर्ने हो । हामी लाइन गएको नगएको मात्रै हेर्छौं,’ विद्युत् प्राधिकरणका प्रवक्ता तिमल्सिनाले राजधानीसँग भने ।

तर, काठमाडौं महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागले भने सिंहदरबार आसपासको बत्तीको काम आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताएको आजको राजधानी दैनिकमा खवर छ ।