अनशनरत डा. गोविन्द केसीको तर्फबाट गठित वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले शिक्षामन्त्री गिरिराजमणि पोखरेल डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर नबनेको र पोखरेलले बेइमान गरेको गम्भीर आरोप लगाएका छन् । शिक्षामन्त्री पोखरेलकै कारण हिजोको वार्तासमेत भंग भएको उनको आरोप छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संयोजक डा. क्षेत्रीले यस्तो गम्भीर आरोप लगाएका हुन् । क्षेत्रीले शिक्षामन्त्री गिरिराजमणि, पूर्व प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री ओलीको डिएनएनमा हिंसा रहेको टिप्पणी गरेका छन् । प्रस्तुत छ डा. क्षेत्रीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
वार्ता कसरी भंग भयो ? कसको कारणले भंग भयो ?
ऋषिजी म तपाईँलाई सुरुमा थोरै स्पष्टीकरण दिन चाहन्छु । वार्ता त भंग भयो । म वार्ता टोलीको संयोजक पनि हो । तर आज यो मौकामा म वार्ता टोलीको संयोजकको हैसियतले मात्र भन्दा पनि एकजना सार्वभौम नागरिकको हिसाबले बोल्न गईरहेको छु । दोस्रो कुरा भनेको हाम्रो एउटा रामकृष्ण ढकालको गीत छ, कति कुरा नबोलेर मीठा–मीठा हुन्छन् भन्ने तर एउटा सिमा कटेपछि आजसम्म नबोलेका मान्छे पनि बोल्न बाध्य हुन्छ । त्यसमा म बोल्न गईरहेको छु । कति कुरा सार्वजनिक रूपमा पहिलोचोटि बोल्नेछु आज । तेस्रो भनेको वार्ता कसरी भंग भयो ? भन्ने जुन यहाँले भन्नुभयो, यो हिजो बेलुकादेखि नै सञ्चारमाध्यममा आईराखेको छ । जब सरकार पक्षले बेईमान गरेर डा. के.सीलाई मृत्यु शैøयामा राखेर ३६ घण्टापछि पनि वार्ता लम्ब्याउनेसम्म लग्ने लक्षण ल्यायो, त्यसको कारणले हिजो राति साँझ वार्ता भंग भयो ।
वार्ता भंग हुनुपर्ने कारण के हो ? सरकारी पक्ष गम्भीर नभएकै हो त ?
गम्भीरताको कुरा धेरै पर आउँछ । गम्भीरताभन्दा पहिला ईमान आउँछ । सरकारको ईमान कहाँ देखिएन भने अहिले यो वार्तामा डा. के.सीले हामीलाई वार्ता टोलीमा पठाएर सम्झौता गरेर अथवा सम्झौताका बुँदाहरू बनाएर आएपछि म फोन पनि उठाउँदिन भनेको भए के हुन्थ्यो आज ? हिजो गिरीराजमणि पोखरेल शिक्षामन्त्री हुनुहुन्छ, उहाँ त्यस्तो अवस्थामा डा. के.सीको अनशनको २६औँ दिनमा आएर उहाँ सम्पर्कविहीन हुनुभयो । उहाँले आफ्नै वार्ता टोलीको फोन उठाउनु भएन । उहाँले सरासर बेईमान गर्नुभयो । त्यसको कारणले हिजो वार्ता भंग भएको हो ।
त्यसोभए शिक्षामन्त्री गिरीराजमणि पोखरेललको कारणले वार्ता भंग भयो ? उहाँ गम्भीर र संवेदनशील बन्नुभएन ?
पोखरेलजीको कारण प्रमुख देखिन्छ यहाँ । तर उहाँको मात्रै भनेर हामीले नभनौँ । किनभने अन्तत : यसको उत्तरदायित्व प्रधानमन्त्रीमा नै पर्न जान्छ । तर यसपालिको वार्ताको क्रममा जुन जिम्मेवारीको हिसाबले जसरी वार्ता टोलीलाई शिक्षा मन्त्रालयले मन्त्रीको निर्णयबाट जुन गठन गरिएको थियो, त्यसो हुँदाखेरि यसलाई बिलम्ब गर्ने, वार्ता लम्ब्याईराख तर उता डा. के.सी मरोस् भन्ने गिरीराजमणिजीले प्रकट गर्नुभयो ।
तर गिरीराजमणिले वार्ताको लागि आफु तयार भएको, फेरि पनि वार्ता गर्ने आफ्नो चाहना भएको, डा. गोविन्द के.सीको माग करिब–करिब सम्बोधन भईसकेको कुरा त बताईरहनु भएको छ त ?
उहाँको चाहना त्यस्तै छ कि वार्ता भईराखेको छ भन्ने, लम्ब्याउने, अस्ति त्यही भन्नुभयो, अस्ति पछि गएर उल्ट्याउनुभयो । हिजो बेलुका आएर त्योभन्दा पनि पछाडि हट्नुभयो । यस्तै गर्दै जाने अनि ताकेता गोविन्द के.सीको ज्यान जाओस् र अलिकति नागरिकको कन्साइनमा बोल्ने आवाज निभोस् भन्ने सरकारी पक्ष, खासगरी मन्त्री र जहाँसम्म यहाँले गोपीजीको कुरा गर्नुभयो, वार्ता टोलीले गरेको प्रयासलाई हामी सराहना गर्छौँ । उहाँहरूलाई हामीले खोट दिएको होइन । उहाँहरूले सिन्सियरली वार्ता गर्नुभएको हो तर उहाँहरूसँग नै मन्त्री सम्पर्कविहीन हुने र यसलाई गम्भीरताको रूपमा नलिने गरियो, त्यो भएपछि त सचिवले मात्रै ईमान देखाएर, प्रयास गरेर त यो समस्याको निकास नै हुँदैन नि त ।
तपाईँ त डा. गोविन्द के.सीसँग लगातार हुनुहुन्छ । प्रत्येक अनशनमा तपाईँको सहभागिता छ । यो अनशनको कुरा गर्दाखेरि, १९ औँ पटक अनशनको कुरा गर्दाखेरि सरकारले अनशन बस्नुहुँदैन, कोरोनाको संक्रमण छ । सरकारले बचाउन सक्दैन भनेर भनिएको थियो नि ?
ऋषिजी मैले यो अहिलेसम्म नबोलेको कुरा बोल्छु भनेको थिएँ । त्यो अब म सुरु गर्छु, एकैछिन धैर्यता गरेर सुन्नुहोला । यो स्टेजमा आएर उहाँको विगतदेखिको सत्याग्रह र यसपालि पनि सरकारले गरेको हेरेर हामी के निष्कर्षमा पुग्दैछौँ भने यो मान्छे मार्ने र मान्छे बचाउने दुईथरी दर्शन लिएको दुई पक्षबीच भएको हुनाले अहिले पनि कुरा मिल्न गा¥हो भईराखेको छ । योभन्दा अगाडि पनि बारम्बार उल्टिने कारण पनि यही हो । डा. के.सीको सिंगो जीवन भनेको आन्दोलनमार्फत मान्छे बच्ने र स्वास्थ्यसेवा नपाएर मान्छे मर्नेबीचमा द्वन्द्व होस्, संविधानमा लेखेझैँ स्वास्थ्यसेवासम्म लग्ने कुरा डा. के.सीको छ । सरकार पक्ष भनेको के तपाईँलाई थाहा छ ? अहिलेका नेपालको सत्तारुढ दल नेकपामा एउटा ओलीजीको समुह छ जसले २०२८ सालमा अब राजनीतिक महत्वाकांक्षाका लागि एकदम कोरा हिंसा गरेको हो वा राजनीतिक क्रान्ति भन्न मिल्नेगरी गरिएको हो ? तर हिंसाको जगमा के.पी. ओलीजी आएको भन्ने त्यतिखेरको अदालतले पुष्टि गरेको, उहाँहरू आफैले पनि सगर्व म यति वर्ष जेल बसेको भन्नुहुन्छ । उहाँ त्यो हिंसाको लागि जेलमा बसेर आएको मान्छे हो । प्रचण्डजी भनेको २०५२ देखि २०६५ सालसम्म सत्र हजार नेपाली मारेर उनीहरूको लाशको भ¥याङ्ग बनाएर सत्तामा पुगेको मान्छे हो, प्रचण्ड । उहाँ लोकनाथ अधिकारी जस्तो मान्छेलाई रुखमा बाँधेर गोली हान्ने मान्छे भनेको प्रचण्डको पार्टी हो । त्यसैगरी सर्वसाधारण बसेको बसमा बम हानेर उडाउने, बालबालिकालाई लगेर युद्धमा लग्ने भनेको प्रचण्ड हो । उहाँको पार्टी हो । त्यसैगरीकन गिरीराज र नारायणकाजी भनेको कस्तो भने प्रचण्डले गरेको मान्छेको ज्यानसँग सौदाबाजी गरेर पद र प्रतिष्ठा साटेर प्रचण्डको आदर हामी जोगाईदिन्छौँ, हामीलाई पद दिनुहोस् भनेर एकैचोटी माओवादीमाथि पुगेको मान्छे हो । गिरीराज, नारायणकाजी, प्रचण्ड, के.पी ओली, यी सबैको डि.एन.एमा हिंसा छ । मान्छे मार्ने प्रवृत्ति यी सबैको छ । नयाँ व्यवस्था आयो, शान्तिप्रक्रिया भयो । नयाँ व्यवस्थामा प्रवेश गरिसकेपछि अहिंसात्मक राजनीतिमा आए । उहाँहरूको रबैया के देखिन्छ भने मान्छे मरोस्, सत्याग्रहको एउटा मान्छे मर्दा के फरक पर्छ ? भन्ने जस्तो रबैया उहाँहरूले देखाउनुभयो । त्यसले गर्दाखेरि यो कुरा नमिलेको जस्तो लाग्छ । त्यसलाई उहाँहरूले एकदम प्रस्ट शब्दमा नभने पनि व्यवहारमा सत्याग्रहीलाई मार्नुपर्छ भन्ने जस्तो नियत एकदम प्रस्ट देखाउनुभएको छ । यो कुरामा हामी एकदम प्रस्ट सार्वजनिक बहस गर्न आवश्यक लागेको हुनाले मैले यहाँलाई यो कुरा बताएको हो ऋषिजी ।
उहाँहरू के भन्नुहुन्छ भने डा. गोविन्द के.सीलाई हामीले बारम्बार भनेका छौँ, अनुरोध गरेका छौँ, अनशन नबस्नुहोस् । अनशन बसेर गलत काम गर्नुभयो । अनशन बस्ने बेला त होइन नि, तपाईँ आज त्यो कुरा मान्नुहुन्छ ?
उहाँहरूले आग्रह गर्नुभयो तर संविधानमा के लेखिदिनुभएको छ, उहाँहरूले पढ्नुभएको छ ? संविधानमा स्वास्थ्य भनेको आधारभूत, नैसर्गिक अधिकार, आकस्मिक उपचारबाट कोही पनि नागरिक बञ्चित हुने छैन भनेर लेखिएको छ । ऋषिजी कोरोनापछि त सबै कुरा सार्वजनिक भयो नै । योभन्दा अगाडि नै कतिले स्वास्थ्यसेवा नपाएर नै गरिबहरू सरकारी अस्पतालमा बेड नपाएर निजीको ढोका ढकढक्याउँदै पैसा नभएर कति मान्छे मरेका छन् । मलाई थाहा छ । त्यो अपरेशन गर्न उपचार नपाएर कति मान्छे मरिराखेका थिए । सरकारले भनेर मात्र हुन्छ ? उहाँको पार्टीको घोषणापत्रमा के लेखेको छ र अहिलेको अवस्थाको तुलना गरौँ न । त्यसपछाडि बल्ल थाहा हुन्छ । भनेर मात्र त हुँदैन नि । डा. के.सीले जुन कुराहरू उठाउनुभएको छ, २०६९ सालदेखि उठाउँदै आएको माग, अहिलेको सरकार बनेकै तीन वर्ष पुग्न लागिसक्यो । यो अवस्था उहाँहरूले ईमान्दारीपूर्वक गर्न चाहेको भए यो भन्दा अगाडि ९÷१० महिने सरकार भयो, गर्न सकेन । उहाँहरूले कति गर्न सक्नुहुन्थ्यो । उहाँहरूलाई अहिले भ्यु टावर, राममन्दिर चाहिएको छ, माक्र्सवादीहरूलाई । डा. के.सीलाई कुन मुख र कुन नैतिकताले नबस भन्नुहुन्छ ?
अहिले त कोरोनाको संक्रमणको अवस्था डरलाग्दो छ नि ? यो बेलामा त डाक्टरहरूले विरामीको उपचार गर्ने होइन र ? अनशन बस्ने हो र ?
डा. के.सीले कोरोना आउनुभन्दा अगाडिदेखि नै, अहिले त कोरोना आएको केही महिना भएको छ, यो सत्याग्रह सुरु भएर मात्रै बिग्रिएको हो त ? होइन नि त । योभन्दा अगाडि त सचेतना मान्छेको पुगेको थिएन । तर महामारी सुरु भईसकेपछि त हामीलाई थाहा थियो कि सरकारले ईमान्दारीपूर्वक काम नगर्ने हो भनेदेखि सरकारले सरकारी अस्पतालको क्षमता नबढाउने हो भने, आई.सी.यु, भेन्टिलेटर नबढाउने हो भनेदेखि मान्छेको ज्यान जान्छ भन्ने पुष्टि भयो । सरकारले अरब एउटै औषधीमा खर्च गरेर भ्रष्ट्राचार गर्न हुने ? अनियमितताको सप्रमाण बाहिर हुँदा केही गर्न नपर्ने ? अनि डा. के.सीले सबैलाई सकुशल गर, यो महामारी एउटाको लागि होइन, यो पछाडि अर्को पनि आउँछ, यसमा अहिलेबाट काम गर, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर, विशेषज्ञ जान्छन्, उपचार पुग्छ भन्ने त सही समय हो । यो त सरकारले मात्रै होइन प्रतिपक्ष दलमा भएका जति पनि सरोकारवालाहरू छन्, यी सबैले बुझ्नुपर्ने कुरालाई उहाँले उठाउनुभएको हो । यो त मेरो विचारमा अहिले त झनै सान्दर्भिक, अहिले लड्नुपर्ने लडाइँ हो जस्तो लाग्छ मलाई ।
अब कुरा कहाँ मिलेन ? तपाईँ त वार्तामा बस्नुभयो, लगातार । हिजोको वार्ता किन भंग भयो ? के कारणले ? तपाईँहरूले अन्य मागहरू राख्नुभएको थियो ? जस्तो डीनलाई हटाउनुपर्छ, वास्तविकता के हो ?
यहाँले इंगित गर्नुभएको डीनलाई हटाउने भन्ने माग होइन । वास्तवमा डा. के.सीको मागमा नै समेटिएको थियो । अब यो कस्तो कुरा भयो भने ऋषिजी, सरकारले वार्ता टोली बनाउने, म्यान्डेट नदिने वार्ताहरू ल्याएपछि डा. के.सीलाई झुलाईरहनु, हामी ईमान्दार छैनौँ, हामी तपाईँलाई भेट्दै भेट्दैनौँ भनेर त्यसलाई आधारभूत ईमान पनि नदेखाएपछि जुन त्यो अमानवता, संवेदनहीनताको जुन पराकाष्ठा देखायो, मेरो विचारमा त्यसकै कारणले रोकिएको हो । जबसम्म गिरीराज मणि र प्रधानमन्त्री ओलीजीको नियत यस्तै हुन्छ, तबसम्म यो कुरा मिल्न सक्दैन । जब अलिकति सही नियतमा आउनुहुन्छ, त्यतिखेर कुरा मिल्छ जस्तो मलाई लाग्छ ।
त्यसोभए दिव्यसिंह साहलाई हटाउनुपर्छ भनेर प्रस्ट रूपमा किन राख्नुभयो त ? प्रधानमन्त्रीको निजी चिकित्सकलाई ? के कारणले ?
व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने म उहाँकै पदमा राखिरहनुपर्छ, उहाँको मान्छे भन्ने विचारमा हुँ ऋषिजी पहिलो कुरा । दोस्रो कुरा, यति धेरै व्यक्तिको पछि लाग्ने मान्छे होइन । त्यसो हुँदा म यहाँलाई प्रस्ट भनौँ, व्यक्तिको बर्खास्तमा डा. के.सीको सत्याग्रह अड्किदैँन । त्यसमा कुरा डा. के.सीेले अड्काउनुभएको पनि छैन । मैले यो कुरा अहिले सार्वजनिक रूपमा नै भनेँ । कुनै व्यक्तिको नियुक्ति र बर्खास्तले तत्कालको लागि आन्दोलनलाई केही फरक पार्दैन । यो विधि र पद्धतिको लागि बसाउनको लागि आन्दोलन हो । मैले अघि भनेँ, जस्तै जुन दिन सरकारको ईमान फर्किन्छ, जुन दिन सरकार ईमान्दार हुन्छ, त्यो दिन यो कुरा अगाडि बढिहाल्छ र यो वार्ता मिल्छ ।
तर सरकारी वार्ता टोलीको भनाईँ छ, गोपीनाथ मैनालीको । सबै कुरा मिलिसकेको छ, एक दुई कुरा, भाषा मात्रै मिलाउन बाँकी थियो । आज वार्ता गर्ने भनिएको थियो । वार्ता किन भंग गर्नुभयो उहाँहरूले, म त आश्चर्यचकित भएँ भनेर भन्नुभएको छ ।
त्यसको लागि ऋषिजी हामीले सरकारी वार्ता टोलीलाई विश्वास गर्ने वातावरण हुनुपर्छ । हिजो बेलुका आउँदाखेरि उहाँले २४ घण्टा अगाडि भएको समझदारीलाई पछाडि भयो भने आज गरेकोमा पछाडि फर्किदैँन भन्ने आधार के ? केही छ ? विश्वास गर्ने आधार चाहियो नि हामीलाई । जतिखेर त्यो आधार आउँछ, त्यतिखेर हामी विश्वास गरौँला । तर उहाँ पहिला भईसकेकै सम्झौताबाट पछाडि फर्किदिने ? अगाडि बढ्ने कुरा नगर्ने हो भने त त्यसले निकास दिँदैन नि त ।
अब तपाईँहरूले डा. गोविन्द के.सीलाई कसरी बचाउन सक्नुहुन्छ ? जीवनरक्षाको लागि तपाईँहरूको आगामी कदम के छ ?
हाम्रो आगामी कदम भनेको सरकारलाई जुन किसिमको दबाब बढेको छ, डा. के.सीको जीवनरक्षाको लागि । सारा नेपालीमा डा. के.सीको जीवन रक्षा गर्नुपर्छ भन्ने दबाब बढिराखेको छ । त्यसलाई अझै बढाउँदै लैजाने, सरकारले जसरी बेईमानी देखाईराखेको छ, यसलाई ईमान देखाउन र कुरा गर्नको लागि बाध्य पार्ने र उहाँको एजेण्डा पूरा गराएर त्यसपछि उहाँको माग पूरा गराएर सत्याग्रह अन्त्य गर्ने नै हाम्रो प्रयास हुनेछ ।
अब तपाईँहरूले आन्दोलनको घोषणा गर्नुभएको छ । आन्दोलन कस्तो हुन्छ ? तपाईँहरूलाई क–कसले साथ दिन्छन् ? डा. गोविन्द के.सीको धड्कन असामान्य छ, स्वास्थ्यस्थिति बिग्रेको छ, नाजुक छ । यो अवस्थामा तपाईँहरूको आन्दोलनको स्वरूप, आकार र प्रकारको बारेमा बताउनुहोस् !
त्यसको आकार/प्रकार भनेको हाम्रो डा. के.सीको लागि सडक प्रदर्शनदेखि लिएर विभिन्न कार्यक्रमहरू गरिराखिएको छ । हाम्रो नेपाल चिकित्सक संघ लगायत विभिन्न संघसंस्थाहरूले आन्दोलनका कार्यक्रमहरू स्थगित मात्रै गरिएका थिए, एकदिनका लागि । फेरि सूचारु गर्नेछन् । आज दिउँसोसम्म त्यसको सबै प्रारूप बाहिर आउँछ ।
त्यसो भए अब आन्दोलनको विकल्प छैन, डा. गोविन्द के.सीलाई बचाउनको लागि ?
हो, हो । अहिले हामीले देखेको त्यही हो । सरकार जबसम्म ईमान्दार भएर आउँदैन, तबसम्म आन्दोलन चर्काउनुको विकल्प छैन ।
तर स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्छ, आन्दोलनमा जानुभन्दा पहिला ?
एकदम हामी मापदण्ड सुरुदेखि नै पूरा गर्दै आएका छौँ र त्यसलाई अब पनि पूरा गरेर आउनेछौँ ।
त्यसो भए अब देशव्यापी रूपमा डाक्टर, चिकित्सकहरू आन्दोलनमा उत्रिन्छन् ? मुलुक ठप्प हुन्छ ?
त्यो हाम्रो दिउँसो नेपाल चिकित्सक संघमा नै कार्यक्रम गरेपछि थाहा होला । वास्तवमा अवस्था त्यतैतिर गईराखेको छ ।
अहिलेको अवस्थामा डा. गोविन्द केसी सरकारसँग पूर्वाग्रही हुनुहुन्छ । कम्युनिष्टको उहाँ विरोधी हो । उहाँ कांग्रेसबाट निर्देशित हो, के त्यो सही हो ?
त्यसको लागि डा. केसीको एजेण्डा र नेकपाको चुनावी घोषणापत्रको तुलना गरेर हे¥यो भने ऋषिजी डा. के.सी नेकपाको नीतिको सबैभन्दा ठुलो समर्थक जस्तो देखिन्छ । यस विषयमा म यहाँभन्दा धेरै नबोलौँ । योभन्दा अगाडि पनि कांग्रेसको देउवाजी सत्तामा हुँदाखेरि पनि बारम्बार सत्याग्रह बस्नुभएको मात्रै होइन कि मेडिकल माफियासँग कुरा गरियो भनेर प्रत्यक्ष भेटेर देउवाजीलाई हप्काउने काम डा. के.सीले गर्नुभएको छ । मलाई लाग्छ, यस पछाडि भविष्यमा कुनै बेला कांग्रेसको सरकार बनेछ भने पनि उहाँको भूमिका यही रहनेछ ।
त्यसोभए गिरीराज मणि पोखरेलले फेरि पनि तपाईँहरूलाई बोलाउनुभयो, वार्ताको टेबुलमा भने वार्ता गर्ने कि नगर्ने ?
वार्ता नगर्ने भनेर हामीले कहिले पनि भनेका छैनौँ । वार्ता उहाँहरूले बोलाउनुभयो भने वार्ताको प्रक्रियामा पक्कै पनि जान्छौँ र त्यही कुराहरू राख्छौँ ।
त्यसोभए वार्ताबाट तपाईँहरू भाग्नुभएको होइन ?
वार्ताबाट हामीहरू भागेका छैनौँ । हिजो बेलुकाको लागि तत्कालको लागि टुंगोमा नपुगेको मात्रै हो ।




प्रतिक्रिया