काठमाडौं, चैत ४। मुलुककै प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा कोरिडोर परियोजना सञ्चालनको तयारी गरिएको छ । एशियाली विकास बैंक (एडीबी)को सहयोगमा वीरगञ्ज–जितपुर–सिमरा कोरिडोर परियोजना छिट्टै अघि बढाउने तयार सरकारले गरेको छ ।
कोरिडोर योजनाको पहिचान र विकास सम्बन्धमा मंगलवार काठमाडौंमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा सरोकारवालाहरूले सो कोरिडोर कार्यान्वयन छिट्टै गरेमा त्यस क्षेत्र तथा नेपालको आर्थिक अवस्थामा सुधार हुने दाबी गरेका छन् । राष्ट्रिय शहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधार मानेर तयार गरिएको राष्ट्रिय शहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई सरकारले समावेश गरेको छ । १५औं योजनामा समेत सरकारले यो परियोजनालाई रूपान्तरकारी योजनाको रूपमा प्राथमिकताका साथ अघि सारेको छ ।
सो अवसरमा शहरी विकासमन्त्री प्रभु साहले वीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सके मात्र समग्र मुलुकको विकासमा थप टेवा पुग्ने दाबी गरे । वीरगञ्ज–जितपुर–सिमरा कोरिडोर परियोजनालाई योजनाबद्ध ढंगले अघि बढाउन जरुरी रहेको भन्दै उनले त्यसका लागि केन्द्र सरकारले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले उक्त कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक विकासलाई प्रोत्साहित गर्ने भएकाले यसमा सबै पक्षको सहयोग र समन्वय महत्त्वपूर्ण हुने धारणा राखेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया