काठमाडौं, जेठ ७ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्।
“महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत–अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका छन्,” भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानाकारीमा भनिएको छ।
भारत–अफ्रिका मञ्च शिखर सम्मेलन मे २८ देखि ३१ सम्म नयाँ दिल्लीमा हुने तय भएको थियो । भारतले अफ्रिका सिडिसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। विश्व स्वास्थ्य सङ्गठनले बुधबार भनेको छ, “घातक इबोला प्रकोपको जोखिम मध्य अफ्रिकामा उच्च छ तर विश्वव्यापी रूपमा कम छ, यो भाइरस सम्भवतः महिनौँंदेखि फैलिरहेको छ।”
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शुक्रबार सङ्क्रामक अत्यधिक रक्तस्रावी ज्वरो (इबोला) को प्रकोपको घोषणा गरिएको छ।अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १७ औँ पटकको इबोला प्रकोपबाट करिब ६०० जना सङ्क्रमित भएको र १३९ जनाको मृत्यु भएको आशङ्का गरिएको छ।
दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, छिमेकी युगान्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन सूचना जारी गरेको छ।
नयाँदिल्लीले ‘महाद्वीपमा सार्वजनिक स्वास्थ्य तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ पार्न निरन्तर सहयोगको महत्त्व’ मा जोड दिएको छ, शिखर सम्मेलनको लागि नयाँ मिति पछि तय गरिने बताइएको छ।




प्रतिक्रिया