लहान, चैत, ४ । नयाँ सत्ता समीकरणका लागि दौडधुप तीव्र छ। अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने कि बचाउने भन्नेमा मुलुकको राजनीति केन्द्रित बनेको छ। यसमा प्रतिनिधिसभामा चौथो दलको हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) निर्णायक बन्ने देखिएको छ। सत्ता गठबन्धनका लागि जसपाले केही सर्त अघि सारेको छ। विगतमा उसले उठाउँदै आएका मुद्दा सम्बोधन हुने सुनिश्चित गरेर मात्र ऊ सत्तामा जान्छ वा उधारोमा भन्ने विषयले अहिले मधेसको राजनीति तरंगित भएको छ।
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अस्तित्व सर्वोच्च अदालतको फैसलाले समाप्त पारिदिएपछि एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा पुगेका छन्। यी दुई दल मिलेर नेकपा बनेको थियो। सर्वोच्चको फैसलाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएपछि सुरु भएको राजनीतिक गतिरोध नयाँ मोडमा पुगेको छ। मुलुकको राजनीति प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने कि बदल्ने भन्नेमा अल्झिएको छ। सत्ता दौडको अल्झनमा जसपा पनि परेको छ। ओलीसँग मिलेर सत्तामा जाने वा ओलीइतरसँग मिलेर सत्ता गठबन्धन गर्ने भन्ने विषयले जसपामा अघोषित धुव्रीकरण देखिएको छ।
जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारलाई हटाउने ध्रुवमा छन्। जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतोले ओली नेतृत्वको सरकार हटाउने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउँदै आएका छन्। जसपाका नेताहरूको बालुवाटार, बुढानीलकण्ठ, पेरिसडाँडा दौडलाई मधेसका कतिपय बुद्धिजीवीले सत्ता चाहनाको उत्कर्ष रूप भनिरहेका छन्। कतिपयले यसलाई जसपा नेताहरूले राजनीतिक संकटको निकासका लागि देखाएको राजनीतिक संवेदनशीलताका रूपमा अथ्र्याएका छन्।
जसपाले सत्ता गठबन्धनका लागि दौडधुप तीव्र पारे पनि ओली नेतृत्वको सरकारलाई साथ दिने कि शेरबहादुर देउवा–पुष्पकमल दाहालको राजनीतिक समीकरणमा सहभागी हुने भन्नेमा आधिकारिक निर्णय गरेको छैन। सत्ता गठबन्धनका लागि कांग्रेसले ‘पर्ख र हेर’ को नीति कायमै राखेको देखिन्छ भने माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन। जसपा अलमलमा देखिएको आजको नागरिक दैनिकमा खवर छ ।




प्रतिक्रिया