सुत्केरीलाई सहयोगको प्रतिबद्धता


काठमाडौँ, ७ चैत: सुत्केरीको समस्याबारे विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी २१ दिनकी सुत्केरी विनिता भुजेललाई श्रीमान्ले छाडेर गएपछि उनलाई अहिले दैनिकी चलाउन धौधौ परेको छ । सोही विषयमा राससले शुक्रबार ‘सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । विनिताको समस्या थाहा पाएर अमेरिका बस्ने सरिता गुरुङले रु १० हजार र काठमाडौँ निवासी प्रितम काफ्लेले रु १० हजार सहयोगको घोषणा गरिसकेका छन् ।

यस्तै सन्दिप बस्नेतले सुत्केरीका लागि चाहिने आवश्यक खाद्य सामग्री सहयोग दिँदै छन् । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । आज केही सहयोग सामग्री उनलाई उपलब्ध गराउने बस्नेतले जानकारी दिए । चौध वर्षअघि उनीहरुबीच प्रेम विवाह भएको थियो । अहिले २१ दिनकी सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उनले गत फागुन २० गतेदेखि श्रीमान् सम्पर्कविहीन भएको बताए ।

अहिले तत्काल ज्याला मजदूरी गर्नसक्ने अवस्थामा नरहेकाले सुत्केरीको समयसम्म केही महिनाका लागि सहयोग पाए त्यसपछि आफैँ ज्याला मजदूरी गरेर दैनिकी चलाउन सक्ने उनले बताए ।-रासस/File Photo