काँग्रेसमा विद्यार्थी राजनीतिबाट आएकाहरुको फड्को


काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विद्यार्थी राजनीतिबाट आएकाहरुले फड्को मारेका छन् । महत्वपूर्ण पदमा नविसंघको राजनीतिबाट बढेकाहरुको दाबी देखिएको छ ।

प्रदेश १ मा संस्थापन इतरबाट सभापतिका उम्मेदवार गुरुराज घिमिरे विद्यार्थी राजनीतिबाट उठेका हुन् । उनी नेविसंघका पूर्व अध्यक्ष हुन् ।

कर्णाली प्रदेशमा संस्थापनइतरका उम्मेदवार भूपेन्द्रजंग शाही पनि विद्यार्थी नेता हुन् । उनी तरुण दलका महासचिव समेत भएका थिए ।

नेविसंघको राजनीतिबाट आएका नेताहरु काँग्रेस राजनीतिमा गति लिने गरी बढ्न थालेका छन् । नेविसंघका पूर्व नेताहरु चन्द्र भण्डारी, एनपी साउद, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापालगायत नेताहरु पनि नेविसंघको राजनीतिबाट बढेका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छेदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य बलबहादुर केसीलगायत नेताहरु नेविसंघको राजनीतिबाट बढेका हुन् ।

नेविसंघको राजनीति काँग्रेस राजनीतिको आधार बन्ने गरेको छ । त्यसकारण पनि नेविसंघबाट आएकाहरु काँग्रेसको राजनीतिमा प्रभावशाली बन्न थालेका छन् ।