सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा


काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्।

वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला र कल्याण गुरुङले शीर्ष नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका छन्।

उम्मेदवारी मनोनयनका लागि तोकिएको मंसिर २५ गतेसम्म सभापतिका आकांक्षीमध्ये मैदानमा कोको टिक्छन्, यकिन छैन। विगतको महाधिवेशनमा भन्दा १४औं महाधिवेशनमा सभापतिका प्रत्याशी धेरै हुने संकेत भने देखिएको छ।

१३औं महाधिवेशनमै सभापतिको उम्मेदवार बनेका देउवा, पौडेल र सिटौला यसपटक पनि उम्मेदवार बन्ने बताउँदै आएका छन्। निधि,सिंह र शेखरले पनि मैदान नछाड्ने दाबी गर्दै आएका छन् भने युवा नेता गुरुङ एक्लै भोट माग्न सक्रिय छन्। देउवासहित संस्थापन र इतर पक्षबाट नेतृत्वका आकांक्षीलाई नेतृत्वमा टिक्न र पुग्न साझा उम्मेदवार खडा गर्न दुवैतिरका नेता तथा कार्यकर्ताले दबाब दिइरहेका छन्।

आफूबाहेक एकले अर्कालाई नेतृत्वमा स्वीकार गर्न दुवै पक्षका आकांक्षी तयार नहुँदा कम्तीमा चारजना सभापतिको प्रत्याशी हुनसक्ने नेताहरूको आकलन छ। नेतृत्वको प्रतिस्पर्धामा उत्रिने नेताले आफूमात्र सभापतिको प्रतिस्पर्धामा उत्रिने हो कि पदाधिकारीसहितको प्यानल बनाउँछन् भन्ने निश्चित छैन।

तर सभापतिका आकांक्षी पदाधिकारीसहितको प्यानल निर्माणमा सक्रिय रहेको निकटहरूले दाबी गर्दै आएका छन्। एक कार्यकाल सभापतिमा दोहोर्‍याउने तयारीमा रहेका देउवा समूहबाट उपसभापतिमा वर्तमान महामन्त्री पूर्ण खड्का र उपसभापति विजयकुमार गच्छदार मुख्य आकांक्षी छन्। देउवा जित सुनिश्चित गर्न संस्थापन इतरका प्रभावशाली नेतालाई आफ्नो पक्षमा ल्याएर उपसभापति खडा गराउने रणनीतिमा छन्।

उनले पार्टीका पूर्वमहामन्त्री सिटौला, सिंहका साथै महामन्त्री शशांकसम्मलाई कार्यवाहक सभापति बनाउनेसहित उपसभापतिका लागि प्रस्ताव गरिसकेका छन्। त्यसलाई उनीहरूले अस्वीकार गरेको बताइएको छ।

सिटौला उपसभापतिसहित वा त्यसबाहेक सहयोग गर्न तयार रहे केन्द्रीय सदस्य प्रदीप पौडेललाई खसआर्य र उमाकान्त चौधरीलाई थारु समुदायबाट सहमहामन्त्री बनाउने देउवाको तयारी छ। पौडेलले महामन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएका छन्। सिटौला मैदानमा खडा हुँदा पौडेल, चौधरीसहितका नेतालाई साथ लिएर अघि बढ्ने तयारीमा रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Skip This

Omoda E5 Pro