ठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुमाथि ‘अर्ली इलेक्शन’ को कुरा कुन नैतिकताका आधारमा गरेको भन्दै प्रश्न गरेका छन् । उनले आज विज्ञप्तिमार्फत् विगतमा आफूले ताजा जनादेशका लागि चुनाव घोषणा गर्दा प्रतिगमन भन्दै प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गरेकाहरुले अहिले अर्ली इलेक्शनको कुरा गरेको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।
‘गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए,’ ओलीले भने,‘जनताको बीचमा जानुलाई प्रतिगमन र जनादेशविपरित जस्केलाबाट सरकार बनाउनुलाई अग्रगमन भन्ने भाष्य निर्माण गरियो । प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई संविधानको जीतका रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा अर्ली इलेक्सन को कुरा गर्दैछन् ?’
माओवादी अध्यक्ष प्रचण्डले वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव गरेकोतर्फ संकेत गर्दै ओलीले जनतासँग क्षमायाचना गर्न भने । गत वर्ष प्रतिनिधि सभाको विघटनविरुद्ध सडक आन्दोलनका नाममा प्रदर्शन गरेर अहिले आफै त्यसतर्फ बढेको भन्दै अराजकताका लागि क्षमतायाचना गर्नुपर्ने तर्क गरे । ओलीले प्रश्न गरे,‘गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नुपर्दैन ?’




प्रतिक्रिया