भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको निष्कर्ष


काठमाडौं, ७ बैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको निष्कर्ष निकालेका छन् । प्रदेश सरकारले बनाएका भ्यू टावर र स्विमिङ पुलको निरीक्षण गरेपछि उनले राज्यको ढुकुटीको दुरुपयोग र अनियमितता भएको निष्कर्ष निकालेका हुन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले बनाएका भ्यू टावर र स्विमिङ पुलको निरीक्षणपछि मन्त्री श्रेष्ठले असन्तुष्टि समेत व्यक्त गरेका छन् । तत्कालीन पर्यटनमन्त्री अरुण नेपालले आफ्नै क्षेत्रमा बनाएको स्विमिङ पुल र तत्कालीन अर्थमन्त्री कैलाश ढुंगलेले आफ्नै गाउँमा बनाएको भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको उनको निष्कर्ष छ ।

तत्कालीन पर्यटनमन्त्री नेपालले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा ४ करोड हालेर स्विमिङ पुल बनाएको खुल्न आएको छ । तत्कालीन अर्थमन्त्री ढुंगेलले पनि रामेछापको खाँडादेवी गोगनपानी सुलीथुम्का ३ करोड ३५ लाख ४४ हजार रुपैयाँ हालेर भ्यू टावर बनाएका छन् ।

त्यस्तै स्विमिङ पुलमा १ करोड बढी बजेट दुरुपयोग गरेका हुन् । रामेछापको खाँडादेवी,सिन्धुलीको सिद्धबाबा चुचुरो, सिन्धुपाल्चोकको मुढे, दोलखाको जिरी, रामेछापको शिवालय, मकवानपुरको चित्लाङ भ्यू टावर निरीक्षण गरेपछि बजेट दुरुपयोग र आर्थिक अनियमितता भएको मन्त्री श्रेष्ठको निष्कर्ष छ ।

ती भ्यू टावर करोडौं लागतमा बनेका हुन् । यी आयोजनाहरुका अनियमितता भएको जनस्तरबाट गुनासो आएको सुनाउँदै उनले छानबिन समिति गठन गरेर अध्ययन गर्ने तयारी भइरहेको जानकारी दिए । आगामी दिनमा भ्यू टावर र स्विमिङ पुलका नयाँ योजना बजेटमा समावेश नगरिने पनि मन्त्री श्रेष्ठको घोषणा छ ।