यसरी सम्झिन मन लाग्यो गिरिजा दाजुलई ९९औं जन्मदिवसमा


जेपी गुप्ता : धेरै कुराहरू संझिन गार्हो भयो। खास गरी तिथी मितिहरू याद हुन्न्, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानु पर्छ। यसरी बिचार्दा कुरो बिस २०४८ पछिको हो। नेपाली काँग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ बिकास समितिलाई रू. १५ हजार अनुदान दिएको थियो। जरूरत मन्द नागरिकहरूको वडामा सामुहिक रूपमा उपयोग गर्नेगरी १/२ वटा हाते चापाकल (ट्यूबेल) जडान गर्नका लागि। गाउँ पंचायतको रूपान्तरण ‘गाउँ बिकास समिति’ को रूपमा भएको थियो। संभवतः केन्द्रबाट बिषयगत अनुदानको रूपमा गएको यो पहिलो अनुदान थियो। सरकारको चाहना थियो कि यस रकमको कार्यान्वयन गाबिसका तत्कालिन सचिव(सरकारी कर्मचारी) बाट होस्। तर, भर्खरै बन्दै गएको एमालेले सर्वदलीय समितिको कुरो उठायो। यसरी सर्वदलीय समिति बनेमा सबै गाबिसहरूमा आफ्नो संगठनको बिस्तार हुनसक्ने उसको धारणा रहेको हुनुपर्छ।

बिस २०३८ साल तिर नेपाली काँग्रेसको प्रशिक्षण कार्यक्रमहरूमा सहभागि हुनका लागि बिपी कोईरालाको देश दौडहा अन्तर्गत बिपीले कयौं ठाउँहरूमा बिकास योजनाहरूका बारेमा बोल्नु भएको थियो। पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सिके प्रसाईको आयोजनमा भएको थियो। यसरी देश दौडाहाको क्रममा स-साना प्रवचन कार्क्रमहरूमा बिपीले अनेकौ ठाँउमा समाजवादी अर्थतन्त्रको गंभीर परिकल्पनाहरू बारे बोल्नु हुन्थ्यो। शायद यी कुराहरू कतै पुस्तिकाको रूपमा प्रकाशित पनि छ, तर आजका पुस्ताले खोजिनीति गरी पढदैनन्।

यसै क्रममा बिपीले भन्नु भएथ्यो, “दक्षिण एशिया खासगरी नेपालमा यहाँका मानिसहरूमा देखिने रोगहरूमा ८०% रोगहरू दुषित खानेपानीको उपयोगबाट हुने गर्दछ।” उहाँले भारत बम्बईका एक प्रख्यात चिकित्सकको रायलाई उद्धृत गरेर तेसो भन्नु हुन्थ्यो र जोड दिनु हुन्थ्यो कि यदि सरकारले आम जनतालाई शुद्ध खानेपानी मात्र उपलब्ध गराउन सक्यो भने नेपालका ८०% मानिसहरू बिशेषतः दुषित खानेपानी खानाको कारणले हुने पेटको रोगबाट मुक्त हुन सक्छन्। गिरिजा प्रसाद कोईराला तेस बेला साथै रहनु हुन्थ्यो। म समेत हामी कति जना पनि संगै हुन्थ्यौं। कुरो सानो थियो, पंचायती शासनले अंचल अस्पताल र कतै कतै जिल्ला अस्पताल खडा गरेको थियो। बिराटनगर र राजबिराजहरूमा अंचल अस्पताल थियो। अंचल भने उत्तरमा सोलु र ताप्लेजुंगसम्म फैलिएको थियो। अंचल अस्पतालको लाभ भने बढीमा मोरंग र सप्तरीका मानिसहरूलाई पुग्ने स्थिति थियो।

बिपीको मुखबाट मैले पहिलो पटक पाँच बेडको पिएचसी(प्राईमरी हेल्थ सेन्टर) को कुरा यस्तै मिटिंगहरूमा सुने। केही गाँउहरूमा स्वास्थ्य चौकीहरू खुल्न थालेको थियो। जहाँ अनमी स्तरका १/२ जना कर्मचारी हुन्थे। बिपीले यौटा जिल्लामा ५/७ गाँउहरू समेटेर १/१ पिएचसी बनाउनु पर्ने बिचार राख्नु हुन्थ्यो। उहाँले यस्तो केन्द्रमा एमबिबिएस भन्दा तल अध्ययन गरेको स्वास्थ्य प्राविधिक रहने र यस्तो केन्द्रहरूमा कमसे कम साधारण औषधीहरू, रगत-खकार-दिसा,पिसाब जाच्ने सुबिधा र घाउँखटिराको सानो सर्जरीको सुबिधा हुनैपर्ने व्यवस्थामा जोड दिनु हुन्थ्यो। यस्तै खालका मानिसको आँखा नलाग्ने प्रकारका स-साना कुराहरू गर्नु हुन्थ्यो।

हामी चितवन पार गर्यौ। अहिलेको नारायणी नदीको पुलको ३/४ सय मिटर उत्तर पट्टी ठूल्ठूला डुंगामा मिनी बस र सानो चार पांग्रे मोटर जीपहरू पार गरिन्थ्यो। हाम्रो दौडहाले जाँहीताही उम्लेका पंचहरूको बिरोधको सामना गर्नु पर्थ्यो। बडो हल्ला थियो, बिपीले चढने डुंगालाई जीप र साथीहरू समेत नारायणीमा डुबाउने योजना छ रे! आज चितवनमा कृष्णलाल सापकोटा, टेक बहादुर गुरूंग, शायद एक जना धनाढ्य (सुभाष प्रधानको पिता जी), मुक्तिलाल चुके, मैया देवी दिदी, एकनाथ भाट हालैका चर्चित जग्गनाथ पौडेल र अहिले संझना नरहेका धेरै धेरैले बिपीको सुरक्षा साथ नारायणी पार गराउने अभिभारा लिए। अहिलेको काँग्रेसले शायद यि मध्येका धेरैलाई कारवाही गरेर गैर काँग्रेसी बनाएका छन्।

हामी राती नवलपुरमा सूर्यभक्त अधिकारीको घर (यौटा काठको सानो मचान जस्तो घर र बाँकी कटेरोहरू) मा बस्यौं। म र बिरेन्द्र दाहाल गिरिजा बाबुको कटेरोमा थियौं। अनिद्रामा रहनु भएका गिरिजा बाबुले मलाई अर्हाउनु भयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नु भएका बिभिन्न बिषयका कुराहरू, उहाँका बिचारहरूलाई टिपोट गर। सान्दाजु, बिमार हुनुहुन्छ। शायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनु हुन्न्। तर, प्रजातन्त्र त आउँछ नै। हामीले उहाँले देखाएका बिचारहरूलाई अगाडी बढाउनु पर्छ। मैले यौटा खास काम पाए।

मलाई बिपीले भनेको याद छ। उहाँले कार्यकर्ताहरू संगको कुराकानीमा भन्नु भा’थ्यो; “म बिराटनगरमा ५/१० बिघा खेती भएको, परेको खण्डमा उपचार खर्चको स्वयंले जोहो गर्नसक्ने मानिस हुँ। तर, म बम्बईमा क्यान्सरको उपचार गराउन जादाँ खर्च ब्यहोर्न सकिन। जेपी, जय प्रकाश नारायणले केही रकम दिएर, केही रामनाथ गोयन्का (इन्डियन एक्सप्रेस पत्रिकाका मालिक) को सहयोगबाट अस्पतालको बिल तिर्न सके। आम नेपाली कसरी सक्छन्? हामीले प्रिभन्टिभ हेल्थ सिस्टममा जानु पर्छ। एक/दुई ठूला अस्पताल भए पुग्छ।”

कालान्तरमा गिरिजा बाबु प्रधानमंत्री हुनु भयो। उहाँको दिमाग एक प्रकारले पूर्व पोषित (प्रिअकुपाईड) थिएन। खाली थियो, देशको बिकासका बारेमा, जनकल्याणका नीतिहरूका बारेमा केही मन परेका संझनाहरू थियो।

जब गिरिजाबाबु प्रधान मंत्री हुनु भयो र कसैले ध्यान न दिएको स-साना कुरालाई ज्यादै महत्व दिनु भयो। बिश्व बैंकका प्रतिनिधिसंग भेटदा देश भरमा गरी पहिलो चरणमा २० वटा ‘पिएचसी’ माग्नु भयो। बेलायतका राजदूतसंग ‘बेलीब्रिज’ माग्नु भयो। यो बेलिब्रिजले तेस बेलाको ठूलो बिध्वंशकारी बाढीको बेला मुलुकको यातायातलाई सुचारू राख्न ठूलो मद्दत गरेको थियो।

ठूला ठूला एयरलाईन्स भन्दापनि हेलिकोप्टर सेवा संचालन गर्न निजी क्षेत्रलाई पहिले अनुमति दिनु भयो। यसलाई उहाँले रेस्क्यूसंग जोड्नु भयो। कति सानो कुरा, आज कसैको आँखा नै लाग्ने, देशका हरेक गाबिसलाई खानेपानीका निम्ति ट्यूबेल जडान गर्न रू. १५ हजार अनुदान दिने व्यवस्था गर्नु भयो। उहाँले तेस देश दौडहाको क्रममा बिपीले बोल्नु भएको दुषित खानेपानीको कारणबाट देशमा ८०% मानिसलाई पेटको रोग लाग्छ, यो मसिनो जस्तो लाग्ने कुरालाई बिर्सन सक्नु भएन। पिएचसीलाई भुल्नु भएको थिएन। ठूला ठूला र बिपूल बैदेशिक लगानीका साथ, बिदेशी महिलाहरूका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिई नेपाललाई ‘हेल्थ टुरिज्म’ को अर्थशास्त्र पढनु भएको थिएन-गिरिजा बाबुले!

(गुप्ताको फेशबुकबाट साभार) 

Skip This

Omoda E5 Pro