काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिलेको आर्थिक अवस्थाको कुरा गर्दा, वैदेशिक मुद्रा सञ्चिती, व्यापार घाटा, चालु खातामा रकम हेर्ने हो भने निराशा लाग्ने अवस्था छ । कर्जा धेरैजसो त अनुत्पादक क्षेत्रमा गयो । वैदेशिक मुद्रा आर्जन गर्ने भनेको कि एफडिआई लिएर हो कि रेमिट्यान्सलाई फर्मललाईज च्यालनबाट लिएर हो । या त निर्यात बढाएर हो । यो कुरामा मौद्रिक नीतिले सम्बोधन गरेको छैन् । समग्रमा आयात प्रतिस्थापनमा पनि त्यति धेरै उल्लेखनीय कुरा भएको छैन् ।’
वैदेशिक मुद्रा सञ्चितीको अवस्था उल्लेख गदै उनले श्रीलंका, लाओस र पाकिस्तान जुन समस्यामा गएका छन् त्यो समस्यातिर जानबाट नेपाललाई रोक्ने नदेखिएको टिप्पणी गरे । उनले भने,‘हाम्रो वैदेशिक ऋण उनीहरुको तुलनामा कम होला ।’ उनले अहिलेको आर्थिक अवस्थाको सुधारको लागि फजुल खर्च कम गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘वडा अध्यक्षलाई पनि तलब दिएर राखेका छौं । यो फजुल खर्च हो । विकास खर्च घटाएका छौं । चालु खर्च कम गर्नतर्फ जानुपर्छ । उत्पादनमा जोड दिनुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । समग्रमा फजुल खर्च कम गर्ने उपायमा लाग्नुपर्छ । आर्थिक सुशासन कायम गर्नेतर्फ सबै सचेत हुनुपर्छ । नेपालमा लगानी गर्ने माहोल भएन । नीतिगत अप्ठ्यारो छन् । त्यतातर्फ ध्यान दिनुपर्छ ।’




प्रतिक्रिया