जनकपुर, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ ।
विभिन्न दलका तर्फबाट तथा स्वतन्त्ररूपमा उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाँचदलीय गठबन्धनका तर्फबाट नेता यादवले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । यस्तै सोही क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले पनि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकोरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेस नेता यादवले पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । सोही क्षेत्रमा एमालेका उमाशङ्कर अरगरिया, जसपाका गङ्गाराम यादव भनिने आनन्द यादव र नेकपा (एकीकृत समाजवादी)का नेता रामचन्द्र झाले पनि उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिनुभयो ।
एमाले–जसपाबीच गठबन्धन भए पनि धनुषा क्षेत्र नं २ मा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएर मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको जसपाका नेता रामअशिष यादवले जानकारी दिनुभयो । प्रदेशसभातर्फ धनुषा क्षेत्र नं २ (क) मा पाँचदलीय गठबन्धनका तर्फबाट लोसपाका सञ्जय साहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै प्रदेशसभा क्षेत्र नं २ (ख) मा पाँचदलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका श्याम यादव, एमालेका सञ्जीव झा र जसपाका रामअशिष यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्रीसमेत रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसप)का वरिष्ठ नेता अनिल झा र एमालेका नेता जुली महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
विशाल जुलुससहित मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेको क्षेत्र नं ३ को निर्वाचन अधिकृत कार्यालयमा पुगेर नेता झाले पाँचदलीय गठबन्धनको तर्फबाट र महतोले एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
गत विसं २०७४ को निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको थियो । महतोले सो क्षेत्र छाडेपछि लोसपाका नेता झाले उम्मेदवारी दिनुभएको छ ।
प्रदेशसभातर्फ धनुषा क्षेत्र नं ३ (क) मा पाँचदलीय गठबन्धनका तर्फबाट कांग्रेसका नेता तथा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका जितेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै प्रदेशसभा क्षेत्र नं ३ (ख) मा पाँचदलीय गठबन्धनका तर्फबाट लोसपाका परमेश्वर साह र एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं ४ मा एमाले सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । महासेठ यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
महासेठ र यादवले आज धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराउनुभएको हो । गत २०७४ को निर्वाचनमा महासेठले धनुषा क्षेत्र नं ४ मा वाम गठबन्धनको उम्मेदवार भएर चुनाव जित्नुभएको थियो । धनुषा जिल्लामा चार लाख नौ हजार नौ सय ८५ मतदाता रहेको मधेस प्रदेश निर्वाचन निर्वाचन कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।
धनुषामा प्रतिनिधिसभाका लागि १० पूर्वमन्त्री प्रतिस्पर्धामा
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराउनुभएको छ । धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने नेताहरूमा १० जना पूर्वमन्त्री नै रहनुभएको छ ।
धनुषा–१ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै धनुषा–२ मा तीन पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रबाट एमालेका उमाशङ्कर अरगरिया, पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । तीनै जना पूर्वमन्त्री हुनुहुन्छ ।
धनुषा निर्वाचन क्षेत्र नं ३ मा एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सत्तारूढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुवै पूर्वमन्त्री हुनुहुन्छ ।
त्यसैगरी धनुषा–४ मा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वमन्त्री यादव र एमालेबाट पूर्वमन्त्री महासेठले धनुषा–४ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।




प्रतिक्रिया