काठमाडौं, ३० असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशको सिरहा ४ (१) बाट स्वतन्त्र उम्मेदवार बनेका शक्ति कुमार वाइबाले भ्रष्टाचारको विरुद्धमा आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले विगत लामो समयदेखि सुशासनको पक्षमा वकालत गर्दै आएका छन् ।
उनले आफ्नो उम्मेदवारी राजनीतिक सुशासनको पक्षमा पनि भएको बताउने गरेका छन् । सिरहाको क्षेत्र नम्बर ४ कम्युनिष्टको गढको रुपमा चिनिन्छ । वाइबा सो क्षेत्रका चर्चित वामपन्थी नेता विष्णुलाल वाइबाका पारिवारिक सदस्य हुन्। बि.एल. वाइबाले परिचित विष्णुलाल ०४८ मै सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि सांसद बनेका थिए ।

अहिले विष्णुलालको राजनीतिक विरासत शक्ति कुमार वाइबाले बोक्ने प्रयास गरेका छन्। वाइबाको उम्मेदवारीलाई लिएर सो क्षेत्रका जनतामा खुशियाली छाएको छ । वाइबाको चुनावी कमाण्डरको रुपमा सो क्षेत्रका पाका कम्युनिष्ट नेता रामअवतार राई, युवा नेता भरत महतो, रामभरोसी यादवलगायत सक्रिय रुपमा खटिएका छन् ।
उम्मेदवार वाइबाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले निर्वाचन आयोगको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट “रिक्सा” चुनाव चिन्ह पाएका छन् । वाइबाहरुले पछिल्लो समय माओवादी केन्द्रले कारबाही गरेपछि स्वतन्त्र प्रगतिशिल जन समूह नेपालमार्फत आफ्ना सामाजिक तथा राजनीतिक गतिविधिहरु अघि बढाउँदै आएका छन् ।





प्रतिक्रिया