स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी


काठमाडौं, पुस १३ । त्रिभुवन विश्वविद्यालयले फागुन २८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्नेगरी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार २० वटा विद्यार्थी संघ संगठनसँग छलफल गरी यस्तो तयारी गरेको हो ।

परिषद्का निर्देशक पशुपति अधिकारीले फागुन २८ मा चुनाव गर्नेगरी परिषद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै भने– ‘आउँदो हप्ता बैठक बसेर फागुन २८ गते निर्वाचन तय गर्नेगरी तालिका सार्वजनिक गर्नेछौं । त्रिविका डीन, संस्थान र निर्देशनालयका पदाधिकारीसहितको बैठकले फागुन २८ गते निर्वाचन गर्ने लिखित सहमति गरेका कारण सोही दिन तय गर्नेगरी तालिका सार्वजनिक गर्ने तयारीमा छौं ।’

परिषद्ले निर्णय गरी कार्यकारी परिषद्मा पठाउने व्यवस्था छ । कार्यकारी परिषद्ले सहमति दिएपछि प्रक्रिया अघि बढ्नेछ । निर्वाचन गर्न त्रिविले केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । परिषद्का निर्देशक अधिकारीका अनुसार सबै निर्णय भएमा पुसभित्र निर्वाचन तालिका सार्वजनिक गरी प्रक्रिया अघि बढाइने छ ।

सोमबारको बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष एवं सांसद सुनिता बराल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, नेकपा एस निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलगायत विद्यार्थी संघ संगठनका अध्यक्षले फागुन १४ देखि चैत १४ भित्र जुनसुकै समयमा निर्वाचनको मिति तोक्दा समस्या नहुने धारणा राखेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

Skip This

Omoda E5 Pro