सभामुख देवराज घिमिरेको शपथग्रहण आज


काठमाडौं, माघ ६ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। उनले अहिले विहान ११ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।
सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका थिए।

घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो। घिमिरेलाई सत्तारुढ दलहरुले मतदान गरेका थिए भने न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले मतदान गरेका थिए।

घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सत्ता साझेदार दलहरु एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मतदान गरेका थिए। यस्तै, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि घिमिरेलाई समर्थन गरेका थिए।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले न्यौपानेको पक्षमा मतदान गरेका थिए।

सभामुखमा निर्वाचित भएका घिमिरेले निष्पक्ष र तटस्थ भएर संसद् चलाउने बताएका छन् । बिहिबार प्रतिनिधिसभाबाट सभामुख पदमा निर्वाचित भएसँगै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा उनले निष्पक्षताका साथ संसद् चलाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

सत्ता गठबन्धनका दलको साझा उम्मेदवार बनेका घिमिरे एक सय ६७ मत प्राप्त गरी प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका हुन् । आफू प्रजातन्त्रको सुन्दर अभ्यासमा रहेको प्रतिकृया दिँदै उनले संसदलाई ठीक ढंगले प्रतिनिधित्व गर्ने बताए ।