सफल सगरमाथा आरोही बुढामगरलाई एयरपोर्टमै पुगेर सम्मान गर्न एमाले सांसद् घर्तीको माग


काठमाडौं,७ जेठ । दुबै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई उचित सम्मान गर्न सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेकपा (एमाले)की र्सासद् इश्वरी घर्तीले सफल सगरमाथा आरोही मगर भोली काठमाडौं फर्कदै गरेको जानकारी दिँदै एयरपोर्टमै पुगेर उनको सम्मानको व्यवस्था गर्न माग गरेकी छन् ।

रोल्पाको थवाङ गाउँपालिका ३ मिरुल निवासी बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोको सफल आरोहण गरेका थिए । बुढामगरले ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनका घुँडादेखि तल दुवै खुट्टा छैनन् ।

उनले घुँडादेखि तल दुवै खुट्टा गुमाएर सगरमाथा पुग्ने विश्वकै पहिले व्यक्तिको रेकर्डसमेत कायम गरेका छन् ।