काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई पहिलो विदेश भ्रमणको लागि चीनबाट निम्तो आएपनि नजानुको कारण खुलाएका छन् । उनले चीन भ्रमणको निम्तो आएपनि आफ्नो कारणले नरोकिएको स्पष्ट पारेका छन् । आज (मंगलबार) राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा उनले यस्तो स्पष्ट पारेका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा बाध्यता छैन । समय र परिस्थितिअनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण नै म आफैं हुँ । म पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरतिरबाट सुरू गरेको थिएँ ।’
चीनबाट आएको निम्तोबारे प्रधानमन्त्री दाहालले आफ्नो कारणले भ्रमण स्थगित् नभएको जिकिर गरे । उनले भने,‘उत्तरले बोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर, त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि उहाँहरूले सरकारको अप्ठ्यारोलाई बुझेर मलाई तपाईं निकै अप्ठ्यारो अवस्थामा हुनुहुन्छ । बोवाओ फोरममा जान सम्भव देखिराख्या छैन हामीले अलि पछि गरौं कि क्या हो ? चीन भ्रमण भनेपछि मैले उहाँलाई मर्का बुझ्दिनुभएकोमा धन्यावाद भनेको हुँ । त्यसकारण मैले रोकेको भन्ने कुरा सत्य होइन ।’




प्रतिक्रिया