भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारत नामक नक्सामा नेपालका भूभाग समावेश गरिएकोमा रास्वपाको आपत्ति


काठमाडौं, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने समाचार सार्वजनिक भएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । रास्वपाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतासँग प्रतिकुल हुने कुनैपनि कदम आफूलाई स्विकार्य नहुने उल्लेख गरेको छ।

आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै रास्वपाले प्रधानमन्त्रीको आजबाट सुरु हुने भारत भ्रमणको क्रममा उक्त विषय उठान गरी जनतासमक्ष त्यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । रास्वपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ-

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको “अखण्ड भारत” नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौं ।