अब एमालेले तयारीका साथ दनक दिने बेला भयोः ओली


काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको संरक्षणमा आपराधिक गतिविधि भइरहेको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमाले नेता कार्यकर्तामाथि सरकारकै संरक्षणमा रहेका गुण्डाहरुले आक्रमण गरेको अरोप लगाएका हुन् । सरकारले यसलाई नियन्त्रण नगरे एमाले अब चुप लागेर बस्न नसक्ने उनको भनाई छ ।

‘अब नेकपा (एमाले) ले तयारीका साथ दनक दिनपर्ने बेला भयो । सरकारले यो गराइराखेको छ भने एमाले चुपलागेर बस्न सक्दैन । हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नु पर्छ भने । गुण्डाहरु न नियन्त्रण गर्छ न गिराफ्तार गर्छ ? प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ यो प्रचण्ड सरकारले । त्यस कुरालाई हामीले जवाफ दिनुपर्ने खण्ड अब चाहिँ आइसक्यो जस्तो छ,’– उनले भने ।

पहिचानवादीहरुको संरक्षकका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको आरोप छ । प्रचण्डपथ अझै नसकिएको र उक्त पथ देशद्रोही भएको ओलीको आरोप छ । ‘उपसभामुख सिर्जना दनुवारको गाडीमाथि ढंगा हानिएको छ । यो सबै पहिचानवादीहरुले हो । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु हुन, प्रचण्डपथ वादी हुन् । यो प्रचण्डपथ अझै गएको छैन । यो प्रचण्डपथ भनेको देशद्रोही पथ हो । यो अपराधी पथ हो । यो अझै गएको छैन,’– ओलीले भने ।