काठमाडौं,९ असोज । एसियाली खेलकुद (एसियन गेम्म) मा सहभागिताका लागि क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तासमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी आज दिउँसो चीनको हाङजाओ जान तयार भएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ। बलात्कार अभियोग लागेका लामिछाने भने त्यही दिन मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएनन्।
तर न्यायाधीश नभएको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दाको सुनुवाइ स्थगन गरेपछि सन्दीप चीन जाने बाटो खुलेको हो।
क्यानले हिजै (सोमबार) का लागि चीन जाने टिकट काटेको भए पनि अध्यक्ष चन्द र सचिव खड्कासँग सन्दीपको सोमबार राति ९ बजे छलफल भएकाले चीन प्रस्थान आजका लागि सारिएको हो।
त्यस क्रममा क्यानका अध्यक्ष चन्द र सचिव खड्काले अदालतबाट राम्रै फैसला आउने शुभेच्छासमेत दिएर सन्दीपको हौसला बढाएका थिए।
काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि भनेर पटक पटक पेसी तोके पन विभिन्न कारण सुनुवाइ स्थगन हुने क्रम जारी छ।




प्रतिक्रिया