भूकम्प पीडितका लागि कांग्रेसले घोषणा गरेको ५० लाख सहयोग कार्यसम्पादन समितिबाट अनुमोदन (भिडिओसहित)


काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसले भूकम्प पीडितहरुको राहत, उद्धार र व्यवस्थापनका लागि घोषणा गरेको ५० लाख सहयोग केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मिनबहादुर विश्वकर्माले तत्काल राहत सामाग्री उपलब्ध गराउनका लागि र घाईतेको उपचारमा प्रभावकारिता ल्याउनका लागि पार्टीको तर्फबाट ५० लाख दिने निर्णय भएकोमा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई अनुमोदन गरेको बताएका हुन् ।

उनले भूकम्पबाट प्रभावितहरुका लागि तत्कालै उद्धार गर्नका लागि, राहतका लागि र पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकार्षण गराउने निर्णय भएको समेत बताए ।

‘तत्काल राहत सामाग्री उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य उपचारमा प्रभावकारिता ल्याउनका लागि पार्टीको तर्फबाट पार्टी सदस्यहरुले जम्मा गरेको रकमबाट, कोषबाट ५० लाख दिने हामीले हिजै निर्णय गरेका थियौं । कार्यसम्पान समितिले त्यसलाई अनुमोदन गरेको छ,’– उनले भने ।

उक्त रकम, उद्धार, राहत र पुनर्स्थापनाका लागि पर्याप्त नहरको भन्दै कांग्रेसले पार्टी संगठनभित्रका सबै पदाधिकारीहरुलाई पार्टीको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न अपिल गरेको उनले बताए । Photo by: Mukunda Kalikote/ RN