भूकम्प प्रभावितलाई एकमुष्ट ५० हजार दिन सम्भव छैनः गृहमन्त्री श्रेष्ठ


काठमाडौं,१४ मंसिर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने ५० हजार रकम एकुमुष्ट रुपमा दिननसकिने प्रष्ट पारेका छन् ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताए । उनले पहिलो किस्ता बुझेर आवास निर्माणको काम शुरु गर्नासाथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताए ।

बुधबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भूकम्प प्रभावितलाई एकमुष्टमा रकम दिन सुझाव दिएको थियो । तर, सरकारले भने त्यो सम्भव नभएको बताएको छ ।

‘पहिलो किस्ता सहजै पाउँछन् । दोस्रो किस्ता पाउन यसो खोस्रिएर भएपनि यो ठाउँमा आवास बनाउन लागेको भन्ने कम्तीमा होस् । त्यतिञ्जेल बैंक खाता छैन भने खोलोस्’, गृहमन्त्री श्रेष्ठले भने, ‘पहिलो दिन पहिलो किस्ता लिनेले भोलिपल्टै पनि दोस्रो किस्ता पाउन सक्ने अवस्था छ ।’

Skip This

Omoda E5 Pro