ओलीलक्षित माधवको टिप्पणी- बयलगाडा चढेर अमेरिका जानु र राजतन्त्र ढाल्नु उस्तै-उस्तै भन्दै थिए, तर हामी अघिबढ्यौं


काठमाडौं,११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बयलगाडा चढेर अमेरिका जानु र राजतन्त्र ढाल्नु उस्तै उस्तै भन्नेहरुको मानसिकतालाई चिर्दै आफूहरु अगाडि बढेको स्मरण गरेका छन् ।

पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सो अभिव्यक्ति दिएका हुन् । अध्यक्ष नेपालले पार्टीभित्र हिम्मतिला र निराशा पैदा गर्ने दुवैखालका मान्छे रहेको पनि बताए।

‘पार्टीभित्र हिम्मत नभएका पनि छन्। निराशा पैदा गर्ने पनि छन्। केहीले पार लाग्दैन भन्दै थिए’, उनले भने, ‘बयलगाडा चढेर अमेरिका जानु र राजतन्त्र ढाल्नु उस्तै उस्तै भन्दै थिए केही मान्छे। तर हामी अघि बढेका छौँ।’

फरक प्रसंगमा नेपालले पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेपनि निरास नहुन कार्यकर्तालाई ढाडस् दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीले आम चुनावमा १० सिट जित्नु चानचुने कुरा नभएको दाबी गरेका थिए ।

‘अहिले हाम्रो पार्टी पहिलो नम्बरमा छैन। कमजोर पनि छैन। प्रत्यक्षमा १० सिट जित्नु सानो कुरा होइन’, उनले भने, ‘सातै प्रदेशमा हाम्रो उपस्थिति छ, ७७ वटै जिल्लामा पार्टी कमिटी छ। पार्टी कहिले सानो हुन्छ, कहिले ठूलो यो क्रम चलिरहन्छ।’

Skip This

Omoda E5 Pro