दलका नेताहरुसँग राष्ट्रपतिले भने, ‘उत्पीडित र उपेक्षित वर्गलाई संविधानले दिएको अधिकार सार्थक हुनुपर्यो’


काठमाडौं, १ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका सन्दर्भमा चासो देखाएका छन् । आज (सोमबार) माघी पर्वका अवसरमा दलका नेता र सांसदहरुलाई शीतल निवासमा बोलाएर उनले विश्वभरनै नेपालको संविधानबारे प्रशंसा भइरहेको अवस्थामा यसको कार्यान्वयन पक्ष पनि बालियो बनाउन आग्रह गरेका हुन् ।

‘अल्पसंख्यक, पिछडिएका, दुर्गमवासी जनतालाई अधिकार प्रधान गरेको छ । यो बेजोड छ । दक्षिण एसियाका मुलुकहरुमा कमै होला, तल्लो तहका जनताले अधिकार पाएको संविधान भनेर सबैले यो संविधानलाई अत्यन्त प्रशंसा गरेका छन् ।’ राष्ट्रपति पौडेलले भने, ‘अब यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यकता छ । व्यबहारमा ल्यान पर्यो । यो संविधानले उत्पीडित र उपेक्षित वर्गलाई अधिकार दिएको छ । त्यो सार्थक हुनुपर्यो ।’

संविधानले परिकल्पना गरेका कुरा कानुन बनाएर व्यवस्थित गर्न पनि उनले सांसदहरुलाई आग्रह गरे । उनले जनताले आशा गरेका कुरा निराशामा नबदल्नसमेत सांसदहरुलाई आग्रह गरे । अहिले जनतामा निराशा आउनुको कारण संविधान कार्यान्वयनको कमी भएको उनको ठहर छ ।

‘त्यसलाई हामीले व्यवहारमा उर्तानका लागि कानुन बनाउन छ । तपाईँहरु संसद्का मित्रहरु सबैले संविधानले परिकल्पना गरेको कुरालाई कानुनद्वारा व्यवस्थित गर्ने कुरा आवश्यकता छ ।’ राष्ट्रपति पौडेलले भने, ‘ती कानुनहरुको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाईँहरुलाई अनुरोध, शुभकामना र आग्रह पनि संविधान कार्यान्वयनमा जाउँ । जनताले जे पाइन्छ भन्ने आशा गरेका छन्, आशालाई निराशामा परिणत नगरौं ।’