उपाध्यक्ष जोशीको निधनमा स्वामिकार्तिक खापर गाउँपालिकामा आज शोक बिदा


काठमाडौं,४ माघ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले आज शोक बिदा दिएको छ । पालिकाकी उपाध्यक्ष मैना जोशीको निधनमा आज पालिकाले सार्वजनिक बिदा दिएको हो ।

लामो समयदेखि क्यान्सरबाट पीडित उपाध्यक्ष जोशीको आज बिहान ३ बजेर १० मीनेटमा निधन भएको थियो ।

निधनको शोकमा गाउँपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।

‘यस स्वामिकार्तिक खपर गाउँपालिकाका उपाध्यक्ष श्री मैना जोशीज्यूको मिति २०८०–१०–४ गते बिहान ३ बजेर १० मीनेटमा अल्पायुमै दुःखद निधन भएकोले स्वामिकार्तिक खापर गाउँपालिका परिवार स्तब्ध भएको छ । यस दुःखद घडीमा शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै यस गाउँपालिकाको मिति २०८०–१०–४ गतेका दिन शोक बिदा दिने गाउँ कार्यपालिकाको आकस्मिक बैठकको निर्णय भएको छ’, जारी सूचनामा भनिएको छ ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।