पहिचानवादी शक्तिलाई बाबुरामको साथ, कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने माग


काठमाडौं, २१ माघ । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समितिको बैठकले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीलाई आत्मसात गर्नुपर्ने बताएको छ । काठमाडौंमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने निश्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई र महिन्द्र राय यादवले वर्षौंदेखि उक्त एजेण्डा उठाउँदै आएका थिए ।

त्यसैगरी, बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या, भ्रष्टाचार नियन्त्रणका विषयमा पनि छलफल भएको बताइएको छ । बैठकले शान्ति प्रक्रियाको बाँकी कामलाई तत्काल पूर्णता दिनुपर्ने, कोशी प्रदेशको नाम परिवर्तन गरेर पहिचानका आधारमा नामांकन गर्नुपर्नेलगायत ८ बुँदे प्रस्ताव पारित गरेछ।

त्यसैगरी, गरी नेसपाले पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा नियोजित रूपमा प्रकाउ गरेको भन्दै रिहाइको माग गरेको छ। नेसपाले जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मात्र समाधान गर्नु पर्ने र त्यसैका निम्ति आयोग बनाइएको बताएको छ।

त्यसैगरी, बैठकमा विधान संशोधनलगायत विषयमा सहमति भएको छ। नेसपाले विचार र एजेन्डा मिल्ने दलहरूसँग संवादलाई निरन्तरता दिने विषयमा पनि छलफल गरेको छ। नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सभ्भावना नरहेको पनि नेसपाले जनाएको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र नेसपाले बोकेको समाजवादी एजेन्डाले मात्र मुलुकलाई तीव्र गतिमा समृद्धिको बाटोमा लैजान सक्ने पनि नेसपा बैठकमा छलफल भएको छ।