माओवादीको निश्कर्षः कांग्रेसले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन दिएन


काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नेपाली कांग्रेसले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन नचाहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीको टाउकोमा रहेको ७/८ हजार मुद्दालाई देखाएर कांग्रेसले काँधमा तरबार झुण्ड्याएर तर्साउन खोजेको उनको भनाइ छ ।

कांग्रेसका उपसभापतिसमेत रहेका तत्कालीन कानुन मन्त्री धनराज गुरुङको कारण अहिले पनि शान्ति प्रक्रिया सम्बन्धी विधेयक पेश हुन नसकेको उनको दाबी छ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक दुई दुई वर्ष लगाएर पनि टुङ्ग्याउन नसकिएको नउको भनाइ छ ।

‘कांग्रेसले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन साथ दिएन । प्रष्ट शब्दमा कानुनमन्त्रीले, जसले कानुन पेश गर्ने हो, कानुनमन्त्रीले यो अहिले हामीले पास गर्न सक्दैनौं भनेपछि ?’ प्रश्न गर्दै उनले भने, ‘आज दुई वर्ष भयो संसद्मा प्रवेश गरेको । किन त ? दुई वर्षसम्म एउटा ऐन बन्न गाह्रो हुन्छ ? माओवादीको टाउकोमा ७/८ हजार मुद्दा छन् । तरबार झुण्ड्याएर राखिरहने, यसैले तर्साउने । यही गर्न खोजेको हो ?’