संसद् फुर्सद भएको बेला पुगेर गफ गर्ने अखडा बन्योः रामनारायण बिडारी


काठमाडौं १६ चैत । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले निर्वाचनमा अर्कै दललाई समर्थन गर्दै जाँदा पार्टीको नीति, कार्यक्रम, झण्डा सबै ओझेलमा परेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको नीति, कार्यक्रम र झण्डाको प्रचारका लागि मात्रै भए पनि आसन्न उपनिर्वाचनमा दुवै ठाउँमा आफ्नै उम्मेदवार उठाउने तयारी गरेको बताए ।

उनले अहिले एमालेसँग माओवादीले गठबन्धन नगरेको दाबी गरे । अहिले सरकारमा सहभागी दलहरुबीच सहकार्यमात्रै भएको अवस्था रहेको उनको भनाइ छ । स्वयं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि यो गठबन्धन नभएर सहकार्य हो भन्ने कुरा स्वीकार गरिसकेको उनको भनाइ छ । चुनावको बेला विभिन्न विचार समूहहरु प्रतिस्पर्धामा गएर निर्वाचित हुने कुरा नै बहुदलीय व्यवस्थाको सुन्दरता रहेको उनले बताए ।

साथै, माओवादीका नेता कार्यकर्ताहरु निस्कृय भएर बसेको उनको आरोप छ । उनले अहिले माओवादीका नेताहरु कामविहीन, निस्कृय भएर बसेको बताए । ‘समस्या हाम्रो पार्टीका नेता कार्यकर्तामा पनि छ । हाम्रा नेता कार्यकर्ताहरु निस्कृय, कामविहीन भइरहेको अवस्था छ । पार्टीको आन्तरिक काम गर्न अध्यक्षज्यूले भ्याउनु भएको छैन,’– उनले भने ।

नेता बिडारीले संसद् गफ गर्ने अखडा भएको टिप्पणी गरे । आफू पनि आठ वर्ष सांसद भएर काम गरेको स्मरण गराउँदै उनले संसद् फुर्सद भएको बेला जाने र गफ गर्ने अखडाको रुपमा विकास भएको बताए । संसद्मा रेगुलर प्रोसेसमा कुनै पनि काम नहुने समस्या रहेको उनले बताए ।

‘कुनै पनि राजनीतिक दलले संसद्लाई प्राथमिकता दिएका छैनन् । मेरो दलले पनि दिएको छैन । सांसद भनेका गोटी हुन्, रोवर्ट हुन् भन्ने सोचिरहेका छन् सबै दलले । त्यहाँ कहिले पनि संसदीय दलको मिटिङ बसेर छलफल हुँदैन ।’ उनले भने, ‘कुनै पनि विधेयकका बारेमा छलफल हुँदैन । म पनि आठ वर्ष बसेर अनुभूति गरेँ । त्यहाँ कुनै विज्ञलाई बोलाइँदैन, त्यहाँ रेगुलर प्रोसेस केही पनि हुँदैन । गफ गर्ने अखडा भन्थ्यौँ नि हामीले पहिला–पहिला, यो गफ गर्ने अखडा हो । फुर्सद भएको बेला यसो पुगेर गफ गर्ने, फुर्सद नभएपछि हिँडिहाल्ने । त्यहाँ बस्नै पर्दैन । यस्तो किन गरेको भनेर मैले सोधेँ । होईन यो संसारकै चलन हो भने ।’