नेता पौडेलको घरमा बम प्रहार गर्नेलाई कडा कारवाही गर्न काँग्रेसको माग


काठमाडाँै, १६ मंसिर  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ का नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलको शुक्लागण्डकी नगरपालिका गणपतेस्थित निजी घरलाई लक्षित गरी आज बिहान बम प्रहार भएको छ ।

नेपाली काँग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अत्तालिएर दिनानुदिन काँग्रेसका नेतालाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटना घटिरहनु अत्यन्त दुःखद् विषय भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ –जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, काँग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन् ।

यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली काँग्रेस घोरनिन्दा र भत्र्सना गर्दछ भन्दै विज्ञप्तिमा यस घटनाले शान्तिपूर्ण एवं निर्वाधरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको उल्लेख गरिएको छ ।

साथै, घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ । (रासस)

Skip This

Omoda E5 Pro