प्रदेश प्रमुखको पृष्ठभूमि : मेयरमा हारेकादेखि महन्थ ठाकुरका सम्धीसम्म


३ माघ, काठमाण्डौ । प्रदेश १ को प्रमुखमा सिफारिस गरिएका डा. गोविन्द तुम्बाहाङ (सुब्बा) कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् ।

०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । चुनाव हारेपछि प्राध्यापन पेशामै फर्किएका डा. सुब्बा सिनासका प्रोफेसर हुन् ।

प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् ।
दोस्रो मधेश आन्दोलन पश्चात मधेश राजनीतिमा प्रवेश गरेका कायस्थ मधेशी जनअधिकार फोरम नेपालको पहिलो महाधिवेशनबाट पार्टीको सचिव र प्रवक्तामा चयन भएका थिए ।

सन् १९६५ बाट नहर विभागमा जागिर सुरु गरेका कायस्थ २००२ मा सरकारको सचिव पदबाट रिटायर भएका थिए। त्यसपछि उनी राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस प्रवेश गरेकी थिइन् ।

प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिल लयर्स एशोसिएसनका पूर्वअध्यक्षसमेत रहेका कुँवर सुशील कोइराला सरकारको पालामा सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता बनेका थिए ।

प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका उर्जा, सिचाई, विधान तथा प्रविधि मन्त्री पनि हुन् ।
उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । २०३५ सालमा सिचाइ विभागको इन्जिनियर पदबाट सरकारी जागिर सुरु गरेका झाले २०६९ सालमा नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका थिए ।

प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् ।
प्रदेश ७ को प्रमुखमा सिफारित गरिएका मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए ।