काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?


काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सबैभन्दा महत्वपूर्ण सम्झौता चिनियाँ रेल काठमाडौं ल्याउने भएको छ । यो सँगै अहिले विभिन्न चर्चा तथा परिपर्चाहरु भैरहेका छन् । के साँच्चिकै अब काठमाडौंवासीले चिनियाँ रेल चढ्न पाउँछन् त ? यो अहिले बहसको विषय बनेको छ ।

आउने अगष्टभित्रै पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरिसक्ने र एक वर्षभित्रै डिपिआर गर्ने सहमति भएको छ । दुई देशबीच भएको सहमति अनुसार आगामी ६ देखि ७ वर्षभित्रै चिनियाँ रेल काठमाडौं आउने भनिएको छ । समयसिमाको हिसाबले हेर्दा यो अत्यन्तै छोटो समय हो । कसैले यस विषयमा विश्वास नै गर्न सकेका छैनन् ।

कतिपयले चिनियाँ रेल रसुवागढीसम्म त आउला तर काठमाडौंसम्म आउनेबारे अझै विश्वास गरेका छैनन् । किनकी चीनले अनुदानमा रेल बनाउने सम्भावना छैन । बनाएपनि ओबिआर परियोजना अन्र्तगर्त ऋण दिएर बनाउने चीनको चाहना छ । नेपालले ऋण धान्न सक्दैन् । ऋणमा यत्रो ठूलो परियोजना बनाउन नहुने विज्ञहरुको सुझाव छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले चिनियाँ रेल काठमाडौं आउन अझै तीन दशक लाग्ने बताएका छन् । सोमबार नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता विश्वकर्माले भने,‘चिनियाँ रेल आउने कुरा सपना हो, तपाई मसँग सपनाको कुरा नगर्नुहोस्, चिनियाँ रेल अझै २० देखि ३० वर्ष आउँदैन् ।’

तर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चिनियाँ रेल ७ वर्षभित्रै काठमाडौं आईपुग्ने जिकिर गरेका छन् । मन्त्री महासेठले पत्रकार धमलासँगको कुराकानीमा भनेका छन्,‘तोकिएको समयमा नै चिनियाँ रेल काठमाडौं आईपुग्छ।’