नुवाकोट । बाढीले घरबार गुमाएका परिवारको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला नुवाकोटको विदुर नगरपालिका पुग्दा पीडितहरू खुसीले दंग परेका छन्। शुक्रबार बाढी प्रभावित क्षेत्रमा पुगेका धमलाले पीडितसँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या सुने र दशैँ मनाउन एउटा खसी उपलब्ध गराए।
दशैँ नजिकिए पनि बाढीले घरबार गुमाएका परिवारमा चाडपर्वको रौनक छैन। अन्तरक्रियाका क्रममा पीडितहरूले दशैँ कसरी मनाउने भन्ने चिन्ता व्यक्त गर्दै बाढीपछि भोग्नुपरेका समस्या सुनाएका थिए। धमलाले उनीहरूलाई दशैँ मनाउन खसी दिनुका साथै अन्य खाद्यान्न सामग्री पनि पठाउने प्रतिबद्धता जनाए।
‘जनताहरूले दशैँ मनाउन पाएका छैनन्। जनताहरू पीडामा छन्,’ धमलाले भने, ‘म सधैँ जनताको साथमा छु। म जनताकै लागि काम गरिरहेको छु।’
पीडितहरूले सरकारले घोषणा गरेको राहत प्याकेज सबैले नपाएको गुनासोसमेत गरेका थिए। बाढीले घरबार गुमाएपछि अहिले अरूको घरमा भाडा तिरेर बस्न बाध्य भएको भन्दै उनीहरूले तत्काल बसोबासको व्यवस्था मिलाउन माग गरे।
धमलाले बाढीपीडितको पुनर्बास तथा पुनर्निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, पीडितका समस्या समाधान र उनीहरूको पुनःस्थापनाका लागि सरकारसँग पहल तथा समन्वय गर्ने बताए।




प्रतिक्रिया