काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ। अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
लिग–२ को अंकतालिकामा छैटौं स्थानमा पुग्ने लक्ष्यसहित मैदान उत्रन लागेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। शीर्ष ६ भित्र रहन नेपालले ओमानविरुद्ध जित निकाल्नुपर्नेछ।
शृङ्खलाको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई हराएको थियो। तर, शनिबार भएको तेस्रो खेलमा क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावनामा दबाब बढेको हो।
क्यानडासँगको जितपछि ३६ खेलबाट २९ अंक जोडेको क्यानडा अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। त्यस्तै, ३५ खेलमा २८ अंक रहेको नेपाल सातौं स्थानमा झरेको छ। आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौं स्थानमा पुग्नेछ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने सम्भावना बलियो हुने भएकाले नेपालका लागि यो खेलको नतिजा विशेष महत्वको छ। त्यसैले नेपाल आज जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने प्रयासमा हुनेछ।




प्रतिक्रिया