चितवन, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ।
श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएका थिए।
जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ। तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताइन्।
स्वास्थ्यमा सुधार आएपछि उनीहरु आज राति काठमाडौँ आउँदै छन्। उनीसँगै गएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन्।
यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो। छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो। त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उनले बताइन्। उनलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ। रासस




प्रतिक्रिया