Logo

महिलामाथि जर्बजस्तीको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा



रिपोर्टर्स नेपाल, १४ असोज । महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिएका हुन् ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताए । उनले भने, ‘ममाथि झुटो आरोप लगाइएको छ यसको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको हुँ ।’

रिपोर्टर्स नेपाललाई प्राप्त सूचना अनुसार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाव दिएका थिए । ओली र प्रचण्डले सभामुख मुछिएको घटनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै राजीनामा दिन सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार सभामुख महरालाई राजीनामा दिएर घटनाको निष्पक्ष छानविनका लागि मार्ग खोलिदिन भनिएको थियो । प्रचण्ड निकटस्थ एक नेताले पनि महरालाई राजीनामा दिन सुझाव दिइएको बताए । महराले नेकपाका शिर्ष नेताहरुलाई सम्पर्क गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । तर, अध्यक्षहरु ओली र प्रचण्डले घटना संवेदनशील भएको र सरकार र पार्टीलाई बदनाम गर्न खोज्नेहरु सक्रिय हुनसक्ने भन्दै राजीनामाका लागि सुझाव दिएका थिए ।

तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले जर्बजस्ती गरेको खबर बाहिर आएपछि सभामुख समस्यामा परेका थिए । उनले जर्बजस्ती नभएको दाबी गरेर प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए । यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्