Logo

नेपाल एससीओको सदस्य बन्न इच्छुक



काठमाडौं, मंसिर ११ । नेपालले सांघाई सहयोग संगठन एससीओको सदस्य बन्ने इच्छा देखाएको छ । रुस र सर्बियाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार मस्कोस्थित स्टेट इन्स्टिच्युट अफ इन्टरनेसलन रिलेसनमा उक्त कुरा बताएका हुन् ।

सोमबार रुसी विदेशमन्त्री सरग्रे लभ्रोभसँगको भेटमा पनि उनले नेपाललाई एससीओको पूर्ण सदस्यता दिलाउन सहयोगको आग्रह गरेका थिए ।

राजनीतिक मामिला, अर्थशास्त्र र व्यापार, वैज्ञानिक–प्राविधिक, सांस्कृतिक र शैक्षिक क्षेत्रका साथै ऊर्जा, यातायात, पर्यटन, तथा वातावरणीय क्षेत्रमा सहयोग बढाउने उद्देश्यले सन् २००१ मा स्थापित यो संस्थामा चीन, रुस, काजाकिस्तान, किर्गिस्थान, उज्वेकिस्तान, ताजिकिस्तान, भारत र पाकिस्तान सदस्य छन् ।

अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया पर्यवेक्षक तथा नेपाल, अर्मेनिया, अजरबैजान, श्रीलंका, टर्की र कम्बोडिया ‘डाइलग पार्टनर’ का रूपमा छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीले अब संवाद सहयात्रीमा मात्र सीमित नभई संस्थालाई अझ योगदान गर्न चाहेको बताए । क्षेत्रीय स्तरमा सहकार्य गर्न नेपाल सार्क र बिमस्टेकजस्ता संगठनको सदस्य रहेको भन्दै उनले एससीओमा थप आबद्ध हुन खोजेको बताए ।

नेपाल र रुस पुराना मित्र भएको जनाउँदै उनले द्विपक्षीय सहकार्यमा जोड दिए । चैतमा नेपाल सरकारले गर्न लागेको सगरमाथा संवादमा रुसको उच्च स्तरको भ्रमणको अपेक्षा गरिएको आजको कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्