सापकोटा प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्न धमलाको माग


काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशको न्यायपालिका भ्रष्टाचारमुक्त नरहेको र त्यसमा बिचौलियाको प्रभाव स्पष्ट रूपमा देखिएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धमलाले २०१३ सालमा सर्वोच्च अदालत स्थापना भएयता धेरै व्यक्ति न्यायाधीश र प्रधानन्यायाधीश बने पनि अहिले न्यायपालिकामा बिचौलियाको प्रभाव स्पष्ट रुपमा देखिएको बताए । न्यायपालिकाभित्र देखिएका यस्ता समस्याहरू तत्काल निवारण गर्नुपर्नेमा उनले जोड दिए।

हाल प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाको सञ्जाल डरलाग्दो रहेको धमलाले दाबी गरे। ‘राजनीति, सुरक्षादेखि लिएर न्यायालयसम्म उनको कनेक्सन पाइएको छ,’ धमलाले भने, ‘सापकोटा प्रकरणमा जो–जो दोषी छन्, उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेर तिनमा संलग्न सबैलाई सरकारले कारबाही गर्नैपर्छ।’

आफू सधैँ अदालतको पक्षमा उभिने मान्छे भएको स्पष्ट पार्दै धमलाले न्यायमूर्तिप्रति ठूलो आस्था, सम्मान र भरोसा रहेको बताए। अदालतको गरिमा बचाइराख्न बिचौलिया र भ्रष्टाचारीमाथि कठोर कारबाही आवश्यक रहेको उनको भनाइ थियो।

‘न्यायालय जनताको आस्था र विश्वासको धरोहर हो, न्यायमूर्तिमाथि यसरी प्रश्न उठ्नु राम्रो होइन,’ धमलाले भने, ‘अदालतको गरिमा जोगाउन रास्वपा नेतृत्वको सरकारले बिचौलिया र भ्रष्टाचारीलाई कारबाही गर्नैपर्छ।’

साथै, अध्यक्ष धमलाले न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि रिपोर्टर्स क्लब नेपालले आगामी दिनमा लगातार बहस जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे।