काठमाडौँ । वरिष्ठ अधिवक्ता बाबुराम दाहालले सर्वोच्च अदालतका न्यायाधीशले बिचौलिया भेटघाट गर्नु अक्षम्य अपराध भएको टिप्पणी गरेका छन् । बिचौलिया इनम सापकोटासँग भेटघाट गर्ने न्यायाधीश हरि फुँयालविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने दाहालले उल्लेख गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता दाहालले न्यायाधीशहरूले आचारसंहिताको पूर्ण पालना गर्दै निष्पक्ष र स्वतन्त्र न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए।
‘न्यायाधीशको आफ्नै आचारसंहिता हुन्छ। न्यायाधीशले दलगत, चिनजानका आधारमा वा कुनै पनि लोभलालचमा नपरी आँखामा पट्टी बाँधेको तराजुको प्रतीकझैँ निष्पक्ष ढंगले न्याय सम्पादन गर्नुपर्छ,’ दाहालले भने, ‘न्यायाधीश भएपछि धेरै व्यक्तिगत इच्छा र सम्बन्धहरू त्याग्नुपर्छ, जुन कुरा आचारसंहितामै प्रस्ट उल्लेख छ।’
न्यायालयमा बस्ने न्यायाधीशले सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने र इजलासमा रिसाउने छुटसमेत नहुने बताउँदै दाहालले सर्वोच्चका न्यायाधीश हरि फुँयालको भूमिकामाथि गम्भीर प्रश्न उठाए।
‘इनम सापकोटाजस्ता बिचौलिया र दलाललाई भेट्न जानु कुनै पनि न्यायाधीशका लागि अक्षम्य अपराध हो,’ दाहालले आक्रोश पोखे, ‘यस्तो अपराध गर्ने सर्वोच्चका माननीय न्यायाधीश हरि फुँयालमाथि संसद्ले महाभियोग प्रस्ताव ल्याएर कारबाही गरोस्। बिचौलियालाई भेट्नु नै उहाँमाथि महाभियोग लगाउनका लागि पर्याप्त आधार हो।’
प्रधानन्यायाधीश मनोज शर्माको विषयमा बोल्दै उनले शर्माविरुद्ध हालसम्म महाभियोग लगाउनुपर्ने पर्याप्त प्रमाण नपुगेको दाबी गरे। प्रधानन्यायाधीश हुनुअघिको कुनै पत्रमा कसैले नाम लेखिदिएकै आधारमा शर्मामाथि महाभियोग लगाउन नमिल्ने उनको तर्क थियो।
यसैगरी, कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको भूमिकाप्रति पनि उनले कडा असन्तुष्टि जनाए। नेपाल बार पछिल्लो राजनीतिक दलहरूको पछि लागेको आरोप लगाउँदै दाहालले भने, ‘नेपाल बार एशोसिएसन अहिलेसम्म नेपाली कांग्रेस र एमालेको भ्रातृ संस्था जस्तो बनेको छ। गलतलाई गलत भन्नुपर्नेमा बारले आफ्नो दायित्व पूरा गर्न सकेको छैन।




प्रतिक्रिया