Logo

ओलीद्वारा नेकपा बिघटन गरी एमाले ब्युँताउने देखि संकटकाल लगाउने सम्मको तयारी



काठमाडौं, १६ बैठक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दल नेपाल कम्युनिस्ट पार्टीभित्र राजीनामा दिने दबाब बढ्दै गएमा कठोर कदम चाल्ने सम्मको तयारी गरेका छन् । यसका लागि उनले रणनीति समेत बनाएका छन् । जसमा नेकपा एमाले ब्युँताउने देखि संकटकाल घोषणा सम्म रहेको छ ।

आज पार्टी स्थायी कमिटि बैठकमा उपाध्यक्ष बामदेव गौतमले यसको खुलासा गरेका छन् । उनले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गर्न मान्छे पठाएको देखि संकटकाल लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग विहान परामर्श गरिएको खुलासा गरेका थिए । उनले यसो भन्दा बैठकमा नेताहरु गम्भीर भएका थिए ।

प्रधानमन्त्री ओलीको स्थायी कमिटि बैठकका अधिकांश सदस्यले राजीनामा मागिसकेका छन् । पार्टीका शिर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौमले सिधै सरकारबाट फिर्ता हुन भनिसकेका छन् । यसबाट ओली अब कि सत्ता छाड्ने कि विकल्पमा जाने मोडमा उभिएका छन् । यसका लागि उनले निकटस्थसँग परामर्श थालेका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले सत्ता हत्तपत्त नछाड्ने योजना बनाएका छन् । उनले सकेसम्म नेताहरुलाई मनाउन नभए कठोर निर्णय लिने संकेत गरिसकेका छन् । यसका लागि राष्ट्रपति भण्डारीसमक्ष संकटकाल लगाउने प्रस्ताव लाने तयारी गरिएको छ । कोरोना भाइरसको महामारी देखाएर उनले संकटकाल लगाउने ठाउँ राखेका छन् । यस्तो अवस्थामा छ महिना देशमा संकटकाल लाग्नसक्छ ।

यसबाहेक ओलीले आफ्ना पक्षधर सांसदलाई लिएर एमाले पार्टी गठन गर्न सक्छन् । पार्टी केन्द्रीय कमिटिमा अल्पमत भएकाले ओलीको भर संसदीय दल नै छ । उनले पार्टीमा दबाब थेग्ने नसक्ने भएमा नेकपा बिघटनको निर्णय समेत लिनसक्ने विश्वस्त स्रोतल जानकारी दिएको छ । स्मरणीय रहोस् नेकपाको गठन ओली र प्रचण्डको विशेष पहलमा दुई वर्ष अघि भएको थियो । त्यतिबेला एमाले र माओवादीबीच एकता गर्दा धेरैले आश्चर्य मानेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्