काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग छलफल गरेका छन्।
आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन संघ र प्रदेश सरकारबीच समन्वय तथा सहकार्य गर्ने विषयमा छलफल भएको हो।
छलफलमा खेलस्थल, खेलाडीको आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवा तथा खेल सामग्री व्यवस्थापनलाई समयमै पूरा गर्ने विषयमा जोड दिइएको छ।
यसअघि असोज १८ गते सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकले पनि प्रतियोगिताको तयारी तीव्र बनाउने निर्णय गरेको थियो।




प्रतिक्रिया