Logo

प्रचण्डमाथि ओलीको ‘सरप्राइज्ड अट्याक’



समाचार विश्लेषण । ‘जनयुद्धका बेलामा एक दुईवटा मोर्चाहरु हारे पनि प्रायः लडाईँको ठूलो मोर्चा जितियो भने अब युद्धि जितियो भन्ने हुन्थ्यो र दुश्मनले घेरा हाल्छ भन्ने कुराप्रति ध्यान कम जान्थ्यो । र उसले घेरा हालेर सरप्राइज्ड अट्याक गर्दा हामीले क्षति व्यहोर्नुपथ्र्यो । एक दुईवटा क्षति व्यहोरिसकेपछि फेरि हामी राम्रो तयारी गर्ने, राम्रो तालिम लिने, राम्रो रेकी गर्ने, राम्रो हातहतियार व्यवस्था गर्ने रणनीति कार्यनीति बनाउँथ्यौं र जित्थ्यौं,’ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार आफू पक्षधर नेताहरुको भेलामा आयोजित ब्रिफिङमा दिएको अभिव्यक्ति हो यो ।

नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई घेराबन्दीमा पारेर कमजोर पारिरहेको विश्लेषण भइरहँदा पछिल्लो अभिव्यक्ति आएको हो । अहिले ओलीसँगको टकरावलाई प्रचण्डले युद्धसँग तुलना गरेका छन् । उनले ओलीले घेराबन्दीमा पारेर सरप्राइज्ड एट्याक गरेको आशय व्यक्त गरेका छन् । हुनपनि नेकपा एकताअघि भएका भद्र सहमतिलाई ओलीले पुरै बेवास्ता गरिदिएका छन् । आधा आधा प्रधानमन्त्री बन्ने दुई अध्यक्षबीचको सहमतिलाई ओलीले मिति सकिएको औषधीको हालत बनाइदिएका छन् ।

प्रचण्ड दोस्रो वरियताको अध्यक्ष बनेर निरिह जस्तै बन्नुपरेको छ । यतिसम्मकी प्रचण्ड ओली सरकारको अधिकांश राजनीतिक नियुक्ति तथा महत्वपूर्ण निर्णयमा वाइपास जस्तै बनाइएका छन् । उनको सिफारिशमा बनेका मन्त्रीहरु समेत ओलीसँग नजिकिएका छन् । यसलाई प्रचण्डले आफ्ता मान्छे तान्ने र सिध्याउन सकिन्छ भनी लागेको घटनाका रुपमा लिएका छन् ।

प्रचण्डको बुधबारको अभिव्यक्तिबाट उनले खराब परिस्थिति आउन सक्ने भन्दै तयारी रहन समेत भनेका छन् । उनले भनेका छन्, ‘मानसिकरुपले जस्तोसुकै परिस्थितिका लागि तयार भयौं भने यो लडाईं जित्छौं ।’ ओलीसँगको पछिल्लो टकरावलाई प्रचण्डले लडाईंका रुपमा लिएका छन् । तर, उनले फेरि रणनीति बनाएर जीत हासिल गर्ने दृढता व्यक्त गरेका छन् । लडाईंमा कहिलेकाही विचलित हुनेहरु पनि रहेको टिप्पणी गरे । आफूलाई सहयोग नगर्ने केही नेकपा नेताहरुप्रति प्रचण्डको संकेत थियो यो ।

ओलीको रणनीतिक चार्तुयताका कारण ओली घेराबन्दीमा परेका छन् । यसलाई उल्टाएर प्रचण्डले ओलीविरुद्ध घेराबन्दी गरिसकेका थिए । सचिवालयका छ जना ओलीविरुद्ध उभिएका थिए । स्थायी कमिटीको दुई तिहाई ओलीको राजीनामाको पक्षमा थिए । तर, परिस्थिति यसरी बदलियो कि स्थायी कमिटीमा ओली नै बहुमतमा पुगेका छन् । उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ओलीतिर गएपछि उनकै पल्लाभारी भएको छ ।

प्रचण्डले यो घटनालाई पनि लडाईंसँग तुलना गरेका छन् । उनले कहिलेकाहीं युद्ध जित्यो भनेर ढुक्का हुँदा दुश्मनले सरप्राइज्ड एट्याक गर्ने गरेको स्मरण गरे । ओलीको यो सरप्राइज्ड एट्याकबाट आफू नआत्तिएको र फेरि रणनीति बनाएर जित्ने दाबी गरेका छन् । प्रचण्डले राजनीतिक जीवनको कठिन मोडमा कसरी ओलीविरुद्धको लडाईं जित्छन् चासोको विषय छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot