Logo

१६ जना स्थायी कमिटी सदस्य छ बुँदेको पक्षमा रहेको बामदेवको जवाफ



काठमाडौं, २४ साउन । शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई उनकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगे । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गरे । उनले ओलीको राजीनामाको दबाब बलियो बन्दै जाँदा यताउता नहुने गौतमलाई आग्रह गरे । गौतमको असन्तुष्टिबारे पनि बुझ्न खोजे ।

श्रेष्ठ अध्यक्ष प्रचण्डसँग कुरा गरेर गौतम निवास पुगेका थिए । तर, गौतमले आफू छ बुँदे प्रस्तावबाटै सहमति निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले छ बुँदे प्रस्तावको पक्षमा १६ जना स्थायी कमिटी सदस्य रहेको, केन्द्रीय कमिटीमा १२० भन्दा बढी रहेको तथ्यांक समेत प्रस्तुत गर्दै अब यसलाई नै मिलनबिन्दु बनाउनुपर्नेमा जोड दिए । श्रेष्ठले स्थायी कमिटीमा अझै प्रचण्ड माधव नेपाल र झलनाथ समुहको बहुमत रहेको बताउँदा गौतमको यस्तो जवाफ आएको थियो । पछिल्लो समय बामदेवको १६ बुँदेमा रामबहादुर थापा बादल, योगेश भट्टराई, घनश्याम भुषाललगायतका नेताहरु पनि उभिएको बुझिएको छ ।

प्रचण्ड र माधव नेपाल पक्षका केही स्थायी कमिटी सदस्यहरु पनि पार्टी फुट्न दिन नहुने पक्षमा बलियो गरी उभिएको र उनीहरुले पनि छ बुँदेमा सकारात्मक बनेको गौतमले बताएका थिए । छ बुँदेमार्फत् ओलीलाई प्रधानमन्त्री र अध्यक्षमा कायमै राखी अली महाधिवेशनमा जान प्रचण्डलाई पार्टीको सम्पूर्ण जिम्मेवारीसहितको कार्यकारी अध्यक्ष दिने गरी जानुको विकल्प नभएको गौतमको तर्क थियो । बरु ओलीले कार्यशैलीप्रति आत्मालोचना गरेर जानुपर्ने अवस्था सृजना गर्न सकिने समेत बताएका थिए ।

गौतमको कुरा सुनेर श्रेष्ठले टकराव निकै बढेको, ओलीले पटक पटक धोका दिएको विषय उठाएको बुझिएको छ । गौतमले पटक पटक धोका खाएको विषय पनि उल्लेख गरेका थिए । तर, गौतमले पार्टी विभाजनको पीडा आफूले विगतमा भोगिसकेकाले जस्तोसुकै अप्ठ्यारो सहेर भएपनि एकताको पक्षमा दृढतापूर्वक उभिने अडान राखेका थिए ।

दुई नेताबीच संसदीय दलमा विद्यमान शक्ति देखि स्थायी कमिटी र केन्द्रीय कमिटीमा कुन पक्षधरको कति भन्ने विषयमा पनि कुरा भएको बुझिएको छ । संसदको कुल २७५ सिटमा नेकपासँग १७४ सिट छ । जसमध्ये ओलीको पक्षमा ८० को हाराहारीमा सांसद छन् । तर, ओली पक्षले १०० संख्या दाबी गरेको छ । नेकपा स्थायी कमिटीमा ४४ मध्ये पूर्व एमालेबाट २६ र पूर्व माओादीबाट १९ जना मनोनित भएका थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरु यताउता भइसकेका छन् । सबैभन्दा बढी ओली पक्षमा छन् । त्यसपछि प्रचण्ड, माधव नेपाल, बामदेव र खनाल पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्