Logo

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार



काठमाडौं, ५ फागुन । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ ।

भागरथीको हत्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई पक्राऊ गरिएको हो । ती युवकले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । उनलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँबाट एक किलोमिटर पर गएर बस्दै आएका थिए । समाजमा ती युवकको चालचलन ठिक थिएन ।

प्रहरीले भागरथीको परिवारको सम्बन्ध राम्रो नभएकाहरु देखि नजिकका सहपाठीहरुबारे बुझ्दै जाने क्रममा ती युवकको पहिचान गरेको थियो । तर, पक्राऊ भने गरिहालेको थिएन । युवक निगरानीमा थिए । अन्तमा उनी शंकास्पद रहेको पत्ता लागेपछि पक्राऊ गरिएको थियो ।
प्रहरीले सबै प्रमाण जुटाएपछि मात्र युवक नै हत्याका अभियुक्त भएको निष्कर्षमा पुगेको थियो । डिएनए टेष्टलगायत प्रक्रिया समेत बढाएपछि मात्र प्रहरीले भागरथी भट्टको हत्याका अभियुक्तबारे खुलासा गरेको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीले रिपोर्टर्स नेपालसँग कुरा गर्दै हिजो दुई दिनभित्र हत्याका अभियुक्त सार्वजनिक गर्ने बताएका थिए । उनले हत्याका अभियुक्तको पहिचान भइसकेको खुलाएका थिए ।

दोषीबारे कुनै आशंका नरहोस् भन्ने हेतु यथेष्ठ प्रमाण जुटाउन प्रहरीले अनुसन्धानमा बढी समय लगाएको थियो । सम्पूर्ण प्रमाण संकलन गरेपछि मात्र सार्वजनिक गर्ने गरी शतर्कतापूर्वक अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलले भागरथी हत्याका दोषी नजिक पुगिसकेको खुलासा गरेका थिए । उनले भनेका थिए,‘हामी अपराधीको नजिक पुगिसक्यौं, चाँडै सार्वजनिक गर्छौं ।’ गृहमन्त्री बादलको भनाईले पनि घटनाका दोषी पत्ता लागेको पुष्टि भइसकेको छ ।

२१ माघमा १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि प्रहरीले गरिसकेको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो । प्रहरीले बलात्कारपछि हत्या पुष्टि गरिसकेको छ ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । तर, उनी घर पुगिनन् । साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्