सोमपालको विस्फोटक अर्धशतकमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित


१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई रोमाञ्चक रूपमा पराजित गरेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

कर्णालीका कप्तान सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाए । गुल्सन झा २८ रनमा नटआउट रहे । सोमपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए ।

यसअघि विराटनगरले लोकेश बमको ८७ रनको मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । लोकेश शतक बनाउन १३ रनले चुके । एन्जेलो म्याथ्युजले ३१ रन बनाए । विराटनगरका म्याथ्युजले बलिङमा तीन विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् ।