अमेरिकाले नेपाली सेनालाई २२ अर्ब ८० करोडका हेलिकोप्टर, ड्रोन र डुंगा दिने


काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १५ करोड अमेरिकी डलर अर्थात् करिब २२ अर्ब ८० करोड रुपैयाँ बराबरका हेलिकोप्टर, ड्रोन र नदीमा चल्ने डुंगा अनुदानमा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा यसबारे जानकारी गराएकी हुन् ।

अमेरिकाले नेपाललाई आठ वटा बेल हेलिकोप्टर उपलब्ध गराउनेछ । तीमध्ये दुई वटा सन् २०२७ मा नेपाल आइपुग्ने र बाँकी छ वटा सन् २०२९ सम्म उपलब्ध गराउने तयारी छ । साथै उच्च क्षमताका ड्रोन र डुंगासमेत प्रदान गरिनेछ ।

अमेरिकी दूतावासका अनुसार यसअघि अमेरिकाले ३ करोड ८० लाख डलर बराबरका एम२८ स्काईट्रक विमान नेपाललाई सहयोग गरेको थियो । ती विमानले विपद्का बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउँदै आएका छन् ।

भोटेकोसी नदीमा आएको बाढीपछि नेपालको पुनर्स्थापना, खोज तथा उद्धार, घाइतेको हवाई उद्धार र विपद् प्रतिकार्य क्षमता बढाउन अमेरिकी सहयोगबारे पनि भेटमा छलफल भएको दूतावासले जनाएको छ ।