Logo

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक



काठमाडौं, ५ फागुन । बैतडीकी भागरथी भट्टको हत्यामा उनकै छिमेकी तथा विद्यालयका सहपाठी रहेको खुलेको छ । अभियुक्त युवक भागरथी अध्ययन गर्दै आएको सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् ।

दिनेश भट्ट नाम गरेका युवक किशोरावस्थाका छन् । उनले प्रहरी समक्ष बलात्कारपछि हत्या स्वीकार गरेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने पुष्टि गरेको छ ।

दिनेशले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँ छाडेर केही पर बस्दै आएका थिए । समाजमा ती युवकको चालचलन ठिक थिएन । उनको व्यक्तिगत चालचलन ठिक नभएकाले पनि निगरानीमा थिए ।

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

प्रहरीले केही दिन निगरानीमा राखेर प्रमाणहरु संकलन गरेपछि पक्राऊ गरेको थियो । त्यसपछि बयानका क्रममा युवकले हत्या स्वीकारेका थिए । बलात्कारको प्रमाण जुट्ने सबै प्रक्रिया समेत प्रहरीले चालेपछि सार्वजनिक गर्न लागेको हो ।

प्रहरीले यथेष्ठ प्रमाण जुटाएपछि मात्र युवक नै हत्याका अभियुक्त भएको निष्कर्षमा पुगेको थियो । डिएनए टेष्टलगायत प्रक्रिया समेत बढाएपछि मात्र प्रहरीले भागरथी भट्टको हत्याका अभियुक्तबारे खुलासा गरेको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीले रिपोर्टर्स नेपालसँग कुरा गर्दै हिजो दुई दिनभित्र हत्याका अभियुक्त सार्वजनिक गर्ने बताएका थिए । उनले हत्याका अभियुक्तको पहिचान भइसकेको खुलाएका थिए ।

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । उनको शव भोलिपल्ट फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्