१३ जिल्लाको महाधिवेशन प्रतिनिधिमा देउवाको बहुमत


काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा संस्थापनइतर पक्षले नेतृत्वका लागि एकल उम्मेदवार बनाउन नसकेका बेला पुनः सभापति बन्ने दाउमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सूक्ष्म ढंगले तल्लो तहको अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष बढाउँदै लगेका छन् ।

वडा अधिवेशनअगावै संस्थापनइतर पक्षबाट एक मात्र साझा उम्मेदवार दिने भनिए पनि यो समूहभित्र नेतृत्वको विषयलाई लिएर विवाद अझै यथावत् छ । यो अधिवेशनमा संस्थापनइतर समूहबाट नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, डा। शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको दाबी गरिरहेका छन् ।

सभापति देउवाले विशेष गरी केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि छनोटमा विशेष ध्यान दिन थालेका छन् । जिल्ला निर्वाचन सम्पन्न भएको १३ जिल्लाको १४ निर्वाचन क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधि कुन पक्षका हुन् भन्नेबारे संस्थापन र इतर पक्ष दुवै पक्षले जोड–घटाउको हिसाब राख्न थालेका छन् । १३औं महाधिवेशनमा तेस्रो पंक्तिमा उभिनुभएका कृष्णप्रसाद सिटौलादेखि सभापतिका आकांक्षी विमलेन्द्र निधि, प्रकाशमान सिंहसमेतले महाधिवेशन प्रतिनिधिको जोड–घटाउमा विशेष चासो राख्न थालेका छन् ।

यसअघि संस्थापन पक्षमा रहेका विमलेन्द्र निधिले सभापतिको दाबी गरेपछि देउवा कमजोर हुने आँकलन गरे पनि अधिवेशन सम्पन्न क्षेत्रबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधिको संख्या हेर्दा उहाँ झन् बलियो हुँदै गएको देखिन्छ । तथापि निधिको मूल क्षेत्र मानिएको तराई मधेसमा तल्लो तहको अधिवेशन सम्पन्न भएको छैन । नेपाल समाचारपत्र दैनिकबाट

Skip This

Omoda E5 Pro