वीरगञ्जबाट गाडी आयात ६७ प्रतिशत घट्यो


वीरगञ्ज, बैशाख ४ । बढ्दो आयातले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले लिएको आयात निरुत्साहन नीतिको प्रभाव देशको मुख्य भन्सार नाकामा देखिएको छ ।

सरकारले गरेको कडाइको फलस्वरूप सवारीसाधन आयात ६७ प्रतिशतले घटेको छ । वीरगञ्ज नाकाबाट हुने गाडी आयात पोहोर चैतको तुलनामा यसपालि ६७ प्रतिशतले घटेको हो । मोटरसाइकलको आयात पनि ५४ प्रतिशतले घटेको छ ।

आयात हुने वस्तुको शीर्षस्थानमा रहेको डिजेल पैठारी २२ प्रतिशतले घटेको छ । चैतमा औद्योगिक कच्चा पदार्थको आयात समेत खस्किएको भन्सारको तथ्यांकले देखाउँछ । फलाम, तेल, प्लास्टिकलगायत औद्योगिक कच्चा पदार्थको आयात परिमाण पनि घटेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को चैतमा आयात व्यापार र त्यसबाट हुने राजस्व संकलन दुवै घटेको छ । आयातमा गरिएको कडाइको प्रभाव भन्सार नाकामा देखिएको पौडेलले बताए ।

‘चैत दोस्रो सातायता भन्सारबाट नयाँ सवारीसाधनको जाँचपास भएको छैन । दैनिक उपभोग्य वस्तुको आयात समेत घटेको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘आयात घटेपछि त्यसको असर राजस्वमा पनि देखिने नै भयो ।’ वीरगञ्ज भन्सारले चैतमा लक्ष्यको ९२ प्रतिशत मात्र राजस्व उठाएको छ ।

१७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा १६ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको भन्सारको तथ्यांकले देखाउँछ ।भन्सार कार्यालयले चालू आवको चैतसम्म (९ महीना)मा १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Skip This

Omoda E5 Pro