पूरा भयो नदेखेको सपना


काठमाडौं, बैशाख १८। “गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ९ का बद्रीप्रसाद लम्सालले भने । गाउँमा २०४० सालमै बाटो बन्यो । गाडी चल्यो । २०५० सालबाटै बिजुली बले पनि अस्पताल बन्ला भनेर सपनामा नसोचेको लम्सालले बताए ।

“अनमी र सीएमएलाई डाक्टर मानेर उपचार गराउँदै आएका हामीले गाउँमा सुविधासम्पन्न अस्पताल बन्ने कुनै सपना नै देखेका थिएनौँ,” लम्सालले थपे, “सङ्घीयताले त नदेखेको सपना पनि पूरा गरायो ।”

४० वर्ष शिक्षण पेसामा रहेर निवृत्त जीवनमा रहेका यज्ञप्रसाद सापकोटाले गाउँमा अस्पताल बनेपछि आश्चर्य भएको बताए। “सुरुवाती दिनमा बोराको स्ट्रेचर बनाएर बनेपासम्म बिरामी बोकेर लैजाने बाध्यता थियो । अब गाउँकै अस्पतालमा उपचार गराउन पाउने भइयो,” सापकोटाले थपे ।

“औषधि किन्न पनि धुलिखेल र काठमाडौँसम्म जानुपर्ने बाध्यता रहेको मजस्ता दीर्घरोगीले गाउँमै सेवा पाउने भएपछि असाध्यै खुसी भएका छौँ,” उनले भने । विक्रम संवत् २०२७ सालतिर सेनामा प्राथमिक उपचार गराउने तालिम पाएका कम्पाउन्डर कमलप्रसाद दाहालले हिगुवापाटीको पाटीमा बसेर मण्डनदेउपुरमा स्वास्थ्य सेवा सुरुवात गरेका थिए । त्यो बेला गाउँमा अस्पताल बन्ला भनेर कसैले सपनासमेत देखेको थिएन ।

काभ्रेपलाञ्चोक जिल्लाको कान्छो नगरपालिका हो– मण्डनदेउपुर । अस्पताल निर्माण गर्ने कार्यमा भने जेठो बनेको छ । सङ्घीयतापछि काभ्रेपलाञ्चोक जिल्लामा अस्पताल बनाएर सेवा प्रारम्भ गर्ने पहिलो स्थानीय तह आफ्नो नगर बनेको नगरप्रमुख टोकबहादुर वाइबाको दाबी छ ।

अस्पताल निर्माणका लागि प्रदेश सरकारको छ करोड ७० लाख रुपियाँ र नगरपालिकाको तीन करोड ८६ लाख गरी १० करोड ५७ लाख रुपियाँको लागतमा वडा नम्बर ७ मा आधारभूत अस्पताल बनेको हो । गोरखापत्र दैनिकबाट

Skip This

Omoda E5 Pro